वेनचाङ, चीन,
साउन ८ गते । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मङ्गल ग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुवै मुलुकबीच अथाह खगोलीय पिण्डहरूको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ ।
चीनले आफ्नो मङ्गल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ ।
चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए । साइट कमान्डर झाङ झुयुले राज्य सञ्चालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गर्नुभएको थियो ।
पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कनेछ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मङ्गल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धी हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताउनुभयो । उहाँले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताउनुभयो ।
मङ्गल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ । तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ । चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष खोजमा अमेरिकाको वर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान सञ्चालन गरिरहेको छ ।
अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मङ्गल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ । नासाले सन् २०३१ सम्ममा मङ्गल ग्रहबाट ढुङ्गा र बालुवाका नमुना सङ्कलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ ।
अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको पनि बताउनुभयो । सन् १०्र९६० देखि शुरु भएका मङ्गल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन् ।