logo
२०८१ असोज ११ शुक्रवार



छङ्दुको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको आदेश

अन्तर्राष्ट्रिय |


छङ्दुको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको आदेश
तस्विर-भियतनाम टाइम्स


बेइजिङ, साउन ९ गते । चीनले दक्षिण पश्चिम शहर छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको छ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय बन्द गर्न यसैसाता आदेश दिएको प्रतिशोधस्वरुप चीनले उक्त कदम चालेको हो ।
चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा संयुक्तराज्य अमेरिकाले अनुचित ढङ्गको कदम चालेपछि त्यसको प्रतिक्रियास्वरुप वैधानिक र आवश्यक कदम चाल्न चीन बाध्य भएको उल्लेख छ ।
वक्तव्यमा चीन–अमेरिकाबीच वर्तमान परिस्थिति निम्त्याउने चीनको कुनै चाहना नरहेको बताउँदै वर्तमान घटनाक्रमको मुख्य जिम्मेवार संयुक्तराज्य अमेरिका नै रहेको उल्लेख छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरू चीन र अमेरिकाबीच पछिल्ला वर्षहरूमा विभिन्न मोर्चामा तनावको वातावरण सिर्जना भएको छ । संयुक्तराज्य अमेरिकाले अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय ७२ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि दुवै मुलुकबीच थप कूटनीतिक विवाद उत्पन्न भएको छ ।
चीनले संयुक्तराज्य अमेरिकाले वाणिज्यदूतावास बन्द गर्ने आफ्नो निर्णय फिर्ता नगरे प्रतिशोधात्मक कारबाही गर्ने धम्की दिएको थियो । संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावासमार्फत बौद्धिक सम्पत्तिको चोरीका कार्यहरू भइरहेको दाबी गरेको छ । अमेरिकी न्याय विभागले दुई जना चिनियाँ नागरिकमाथि सयौं अमेरिकी कम्पनी तथा कोरोनाभाइरसविरुद्धको खोपसँग सम्बन्धित अनुसन्धानका सूचनाहरू चोरी गरेको आरोपमा दोषी ठहर गरेलगत्तै अमेरिकी प्रशासनले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको थियो ।
चीनको बेइजिङमा संयुक्तराज्य अमेरिकाको राजदूतावास कार्यालय रहेको छ । साथै चीनको मुख्य भूभागमा अरु पाँच वटा र हङकङमा एउटा वाणिज्यदूतावास कार्यालय रहेका छन् ।
छङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय सन् १९८५ मा स्थापना गरिएको थियो । यहाँ करिब २०० जना कर्मचारी रहेका छन् ।
छङ्दुस्थित अमेरिकी वाणिज्यदूतावासको कार्यालय विगतदेखि नै विवादको घेरामा रहँदैआएको छ । अमेरिकी गुप्तचर विश्लेषक एडवार्ड स्नोडेनले सन् २०१३ मा सार्वजनिक गरेको एउटा विवरणमा छङ्दु कार्यालयमा जासुसी उपकरणरू जडान गरिएको बताएका थिए ।
यही वाणिज्यदूतावासमा सन् २०१२ मा छाेङकिङ नगरका तत्कालीन प्रमुख वाङ लिजुनले शरण लिएका थिए । पछिल्ला वर्षहरूमा चीन र अमेरिकाबीच व्यापारदेखि कोरोनाभाइरस महामारी तथा चीनको हङकङ नीति, सिनजियाङ र दक्षिण चीन सागरका विषयमा विवाद उत्कर्षमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?