नयाँदिल्ली, साउन १० गते ।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । तीमध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरूले जनाएका छन् ।
प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना सङ्क्रमित भएका छन् ।