logo
२०८१ मंसिर ८ शनिवार



थाइल्याण्डमा सरकारविरुद्ध हजारौँको प्रदर्शन

अन्तर्राष्ट्रिय |


थाइल्याण्डमा सरकारविरुद्ध हजारौँको प्रदर्शन
तस्विर–फाइल


बैङ्कक, भदौ १ गते। थाइल्याण्डको सरकारका विरुद्धमा थाइ राजधानी बैङ्ककमा आइतबार हजारौँ जना नागरिक जम्मा भएर प्रदर्शन गरेका बताइएको छ । उनीहरूले थाइ सरकारको वहिर्गमनको माग गरेका थिए । राजधानी बैङ्ककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन् ।

उनीहरूले विपक्षी दलहरूमाथि भएको दमनको अन्त्य गर्न र नयाँ तथा प्रजातान्त्रिक संविधान ल्याउनका लागि वर्तमान प्रधानमन्त्री ओचाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।
यहाँका विपक्षीहरूले पूर्व सैनिक शासक ओचाको राजीनामा विगत लामो समयदेखि नै माग्दै आएका छन् । उहाँ पूर्व सैनिक शासक हुनुहुन्थ्यो र गत वर्षको विवादास्पद निर्वाचन जितेर सत्तामा आउनुभएको थियो ।
कम्तीमा पनि २० हजार जना थाई नागरिक सरकार विरोधी प्रदर्शनमा सहभागी भएको फ्रि युथ मुभमेन्टका एकजना नेताले बताए ।फ्रि युथ मुभमेन्ट यहाँका विद्यार्थी सङ्गठनहरूले सरकारका विरुद्धमा आन्दोलन गर्नका लागि निर्माण गरेको एउटा मोर्चा हो ।

उक्त मोर्चाका नेताले यहाँ सरकारका विरुद्धमा आन्दोलन सुरु भइसकेको र ठूलो संख्यामा नागरिक सडकमा आएको बताएका छन् । आन्दोलनमा जम्मा भएका करिब १९ हजार नागरिकले वर्तमान संविधान फेरेर नयाँ लेख्नुपर्ने भन्दै सरकारलाई हस्ताक्षर गरेर बुझाएका छन् ।

थाइल्याण्डको संविधान त्यहाँ सैनिक शासन रहेका बेला सन् २०१४ देखि २०१९ को अवधिमा बनाइएको हो । उक्त संविधान प्रजातान्त्रिक नभएको भन्दै यसको पुनः लेखन उनीहरूको माग छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?