नयाँ दिल्ली, भदौ १४ गते।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या वृद्धि हुँदैगएको छ। सरकारी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ। मन्त्रालयले आइतबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल सङ्क्रमितहरूको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।
पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या ९४८ रहेको उल्लेख गरिएको छ । भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
कूल सङ्क्रमितमध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरूको सूचीमा रहेको भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना सङ्क्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।