logo
२०८१ मंसिर ८ शनिवार



जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव आकाङ्क्षी

अन्तर्राष्ट्रिय |


जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव आकाङ्क्षी


टोकियो, भदौ १४ गते।
जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ ।
आकाङ्क्षी सुगा सरकारको प्रमुख प्रवक्ता समेत हुनुहुन्न्छ । उहाँलाई पार्टीकै कतिपय बरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका छन् । उनीहरुले कोरोनाभाइरसले सृजना गरेको महामारीको सामना गर्ने, सवैसँग समन्वय र सहकार्य गर्नेलगायतका सरकार संचालनका लागि आवश्यक क्षमता उहाँसँग भएको दावी पनि गरेका छन् ।

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)का वरिष्ठ सांसदहरुले नयाँ प्रधानमन्त्री चयनका लागि आउदो सेप्टेम्बर १५ तारिखको वरीपरी निर्वाचन हुनसक्ने बताएका छन् । प्रधानमन्त्री छनोटको निर्वाचनमा एलडीपीकै नेताद्वय पूर्व परराष्ट्र मन्त्री फुमिओ किशिदा र पूर्व रक्षा मन्त्री शिगेरु आइशीबा पनि सहभागी हुने संकेत गर्नुभएको जनाइएको छ ।
मुख्य सचिव सुगाले सन् २०१२ देखि नै तत्कालिन प्रधानमन्त्री आवे शक्तिमा आएसँगै सरकारको मुख्य प्रवक्ताको रुपमा काम गर्दै आउनुभएको छ । उहाँलाई आवेको अति विश्वासपात्र भएकाले र क्षमतावान् पनि भएकाले प्रधानमन्त्री हुने सवैभन्दा बढी सम्भावना भएको उम्मेदवारको रुपमा हेरिएको छ । आवेको चाहना र समर्थन पनि उहाँलाई नै हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
निर्वतमान प्रधानमन्त्री आवेले आफू अस्वस्थ्य हुँदा हुँदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताउनु भएको थियो । आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उहाँको भनाइ छ ।
उहाँको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उहाँले अहिले नै राजीनामा दिनु भएको हो । सन् २०१२ देखि लगातार शक्तिमा रहनुभएका आवे यस अघि नै जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएको नेताका रूपमा इतिहास रच्न सफल बन्नुभएको छ । उहाँले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । तर पछि स्वास्थ्यमा सुधार भएपछि फेरि निर्वाचित हुनुभएको थियो ।
पछिल्लो दुई हप्तामा उहाँ दुई पटक अस्पताल जानु भएको छ । उहाँ अर्को महिनादेखि ६६ बर्ष लाग्नु हुनेछ । उहाँलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन् झन् बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?