लन्डन, भदौ २२ गते। बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । गत् मई महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ ।
हालसम्मका सङ्क्रमितको संख्या तीन लाख ४७ हजार १५२ जना पुगेको छ । यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक हो भन्नुभयो ।
उहाँले केही समययता सङ्क्रमितहरु नदेखिएकोमा आइतबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको बताउनुभएको छ ।
लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।