logo
२०८१ मंसिर ९ आईतवार



बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

अन्तर्राष्ट्रिय |


बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी
तस्विर-याहु न्यूज


न्यूयोर्क, संयुक्त राज्य अमेरिका, असार २३ गते।
अमेरिका घना जनसङ्ख्या भएको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । यो सँगै बन्दुक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो अमेरिकी राज्य बनेको छ ।
कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गभर्नर क्युमोको कार्यालयका एक अधिकारीले बताउनुभएको छ । गत ४ जुलाईको साप्ताहिक बिदामा न्यूयोर्क राज्यमा मात्रै साप्ताहिक ५१ वटा गोलीकाण्डका घटना भएको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अमेरिकामा देशैभरि गोलीकाण्डका कारण हुने मृत्युदर बढेको छ । गत साता मात्रै दुई सयभन्दा बढी यस्ता घटना घटेका एफबीआईको रिपोर्टमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको अन्त्यमा हत्याका घटना वृद्धिलाई रोक्न बन्दुक आपूर्ति र हतियार तस्करी नियन्त्रणका सम्बन्धमा एउटा रणानीति अघि सार्नुभएको थियो ।

खोप लगाउन राष्ट्रपति बाइडेनको नागरिकसँग आग्रह
यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले सबै नागरिकलाई बिना हिचकिचाई खोप लगाउन पुनः आग्रह गर्नुभएको छ । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा पुगेर भएपनि खोप अभियानलाई सम्पनन गर्ने र नागरिकलाई महामारीबाट सुरक्षा प्रधान गर्ने उहाँले बताउनुभएको छ ।
जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो मात्रा खोप लगाउने लक्ष्य पूरा गर्न बाइडन प्रशासनले घरदैलो कार्यक्रम शुरु गरिसकेको छ ।
अति सङ्क्रामक मानिएको कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।
बाइडनले भन्नुभयो, “अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर–घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।”
अमेरिकीहरूबीच खोप अभियानबारे सकारात्मक तथा नकारात्मक दुबै बुझाई रहेको पाइन्छ । सरकारको यस कार्यक्रमको आलोचकहरुले खोपको विश्वसनियातामाथि अविश्वास प्रकट गर्न पाउने बताएका छन् । सरकारले खोप उपलब्ध गराउनुपर्ने तर लगाउने नलगाउने निर्णय लिन व्यक्तिलाई स्वतन्त्रता दिनुपर्ने कोभिड–१९ विरूद्धको खोपका आलोचकहरूको भनाइ रहेको छ ।
अमेरिकामा केही रिपब्लिकन सांसद र सदस्यहरू धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने–नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै उनीहरूले घर घर आउनेहरुलाई वेवास्ता गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?