logo
२०८१ जेष्ठ ६ आईतवार



अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय 

अन्तर्राष्ट्रिय |


अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय 


     
अल्जियर्स, असोज १२ गते । अल्जेरियाका  दुई पूर्व प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।    
पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ वर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच वर्ष जेल बस्नुपर्ने भनिएको छ ।    
    
उहाँहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्दा लगाइएको समाचारमा जनाइएको छ ।सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्दा बनाइएको छ ।    
    
भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच वर्षको जेल सजाय तोकिएको छ । उहाँलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ ।    
पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बन्नुभएको थियो ।    
    
त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्नुभएको थियो । उहाँ बौटेफ्लिकको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक हुनुहुन्थ्यो । तत्कालीन राष्ट्रपति बौटेफ्लिकले गत सन् २०१९ मा राजीनामा दिनुभएको थियो । हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दवाबका कारण उहाँले राजीनामा दिनुपरेको थियो । उहाँकाे यही सेप्टेम्बर महिनामा ८४ वर्षको उमेरमा निधन भएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?