logo
२०८१ मंसिर ७ शुक्रवार



भारतमा नौ महिनापछिकै सबैभन्दा कम सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा  नौ महिनापछिकै सबैभन्दा कम सङ्क्रमित


नयाँदिल्ली, कात्तिक २३ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या नौ महिनापछिकै सबभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन् ।

यो सङ्ख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सबैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४३ लाख ७७ हजार ११३ पुगेको अधिकारीहरुले जनाएका छन् । कूल सङ्क्रमितमध्ये एक लाख ४० हजार ६३८ जना अहिले पनि सङ्क्रमित अवस्थामै छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि दिनप्रतिदिन घट्दै गएको छ ।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३७ लाख ७५ हजार ८६ पुगेको छ । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख ६१ हजार ३८९ जनाको मृत्यु भएको छ । तीमध्ये ३३२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?