logo
२०८१ बैशाख १७ सोमवार



अफगानिस्तानमा सात हजार विकास परियोजनाहरू अधूरा

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा सात हजार विकास परियोजनाहरू अधूरा


अफगानिस्तान, पुस १३ गते । गरिबी घटाउने, समुदायहरूको लागि सामाजिक(आर्थिक अवस्था सुधार गर्ने र युवाहरूको बसाइँसराइलाई रोक्ने उद्देश्यका सात सञ्चालित नागरिक चार्टर राष्ट्रिय प्राथमिकता कार्यक्रम (सिसिएनपिपि) का कम्तिमा सात हजार परियोजनाहरू अफगानिस्तामा अधूरा रहेका छन् ।

सन् २०१६ मा शुरु भएका ती राष्ट्रिय कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको अर्थ मन्त्रालयले सोमबार जनाएको छ । कार्यक्रमको पहिलो चरण २०२२ को अन्त्यमा सम्पन्न हुने अपेक्षा गरिएको टोलो न्यूजले जनाएको छ। मन्त्रालयका प्रवक्ता अहमद वली हकमलले कार्यक्रमको पहिलो चरणमा देशभर कम्तिमा १२ हजार आयोजना कार्यान्वयन गर्न १ अर्ब अमेरिकी डलर विनियोजन गरिएको र १२ हजार आयोजनामध्ये ७ हजार अधूरा रहेको बताउँनुभएको छ ।

‘करिब ७ हजार आयोजनाहरू अधूरा छन् । कम्तिमा आधा सकिएका आयोजना पूरा गर्न विश्व बैंकसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौं,’ हकमलले भन्नुभयो ।

देशमा आयोजनाहरूको कार्यान्वयन ठप्प भएकाले गरिबीको दर बढ्ने विज्ञहरुको विश्वास रहेको टोलो न्युजले जनाएको छ ।

‘परियोजनाहरू धेरैजसो विश्व बैंकले अनुदान दिएका थिए । गाउँमा विकास आयोजनाहरू रोकिएमा गाउँलेहरूको गरिबी बढ्छ,’ विज्ञ अब्दुल नसीर रेष्टियाले उल्लेख गर्नुभयो।

(सिसिएनपिपि) हजारौं साना र ठूला परियोजनाहरू कार्यान्वयन गर्न दश वर्षमा निर्धारित थियो तर अगस्टको मध्यमा तालिबानले अफगानिस्तानको नियन्त्रणमा लिएपछि यो सबै स्थगित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?