logo
२०८१ असोज २० आईतवार



भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित


नयाँदिल्ली, पुस २० गते । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् ।

गत २४ घण्टामा भएका सङ्क्रमितमध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । तीमध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४६ करोड ७० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?