logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा एक लाख ४९ हजारभन्दा बढी सङ्क्रमित, मृतकको सङ्ख्या पाँच लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा एक लाख ४९ हजारभन्दा बढी सङ्क्रमित, मृतकको सङ्ख्या पाँच लाख नाघ्यो


नयाँदिल्ली, माघ २१ गते । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सबभन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ ।

महाराष्ट्रमा कोरोना सङ्क्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकामा ३९ हजार १९७, तमिल नाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।

हाल भारतमा कोभिड–१९ कुल सङ्क्रमितको सङ्ख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ । तीमध्ये हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ लाख ३५ हजार ५६९ रहेका छन् । कुल सङ्क्रमितको ३.४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.३९ प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म यहाँ ७३ करोड ५८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?