logo
२०८१ बैशाख ६ बिहीवार



ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३० पुग्यो

अन्तर्राष्ट्रिय |


ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३० पुग्यो
फाइल फाेटाे


ब्राजिल, फागुन ७ गते । दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर दुई सयभन्दा बढी पुगेको बताएको छ । मंगलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य ‘युद्ध दृश्य’ जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।

अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ ।

ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?