logo
२०८१ बैशाख १५ शनिवार



भारतमा २४ घण्टामा थप १५ सय ४९ जनामा सङ्क्रमण

अन्तर्राष्ट्रिय |


भारतमा २४ घण्टामा थप १५ सय ४९ जनामा सङ्क्रमण


नयाँदिल्ली, चैत ७ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ । यद्यपि आइतबार मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २५ हजार १०६ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ३१ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम पाँच लाख १६ हजार ५१० को मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ६५२ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६७ हजार ७७४ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८३ करोड ५२ लाख २५ हजार ६० डोज खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?