जेरुसेलम, चैत १५ गते । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ ।
उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ ।
“प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ, यसको नयाँ तालीका पछि सार्वजनिक गरिनेछ,” प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उहाँको तीन दिने भ्रमण आगामी आइतबारदेखि सुरु हुने तय गरिएको थियो ।
दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा इजरायलका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कार्यतालिका बनेको हो । उहाँले पहिलो पटक भारतको भ्रमण गर्न लाग्नु भएको थियो ।
प्रधानमन्त्री बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको प्रधानमन्त्रीको कार्यालयले सोमबार सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।
“हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिट इजरायलको जेरुसेलममै भएको थियो ।
उहाँले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाइएको छ ।