logo
२०८० चैत्र १५ बिहीवार



सिमकोटका किसान आलुखेतीमा आकर्षित

अर्थ |
प्रदेश |


सिमकोटका किसान आलुखेतीमा आकर्षित


सिमकोट,चैत ३० गते । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् ।

नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आकर्षित हुँदै गएका हुन् । आलु जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् । आलु फलाएपछि मौसमीभन्दा बेमौसमीमा यसको भाउ बढी पाइने गरेको किसान बताउँछन् ।

सदरमुकाम सिमकोट–५ तल्लोगाउँ र ६ माथिल्लो गाउँका किसानले सदरमुकाममा भएका आफ्ना बढीजसो खेतमा आलुखेती मात्रै गर्ने गरेका किसान मुक्ति रावतले बताउनुभयो । उहाँका अनुसार एक–दुई खेतमात्रै अन्य बाली उत्पादन हुँदै आए पनि बढीजसो खेतमा आलुमात्रै उत्पादन गरिँदै आएको छ । यहाँका किसानले बर्खामा मात्र आलुखेती गर्ने चलन छ । यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घर खर्च चलाउँदै आएका छन् ।

सिमकोटमा आलुको प्रतिकिला मौसममा रु ८० देखि १०० सम्म बिक्री हुन्छ भने बेमौसममा रु. १०० देखि १५० सम्म बिक्री गर्ने गरेको किसान बताउँछन् । जिल्ला कृषि विकास कार्यालयले आलुखेती गर्ने किसानलाई बीउमा छुट र कृषि सामग्रीमा अनुदान दिन आवश्यक छ । यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा पनि सहयोग गर्न आवश्यक रहेको यहाँका किसान बताउँछन् ।

चैतमा आलु रोप्न चटारो

सदरमुकाम सिमकोटसहित आसपासका किसानलाई चैतको अन्तिमदेखि आलु रोप्न चटारो हुने गर्दछ । यो समय सिमकोटमा प्रायः किसान आलु रोप्न व्यस्त हुन्छन् । यहाँका अधिकांश किसान अन्य खेतीपातीभन्दा आलु कसरी बढी उत्पादन गर्ने भनेर खेतबारीमा दिनरात मेहेनत गरिरहेका हुन्छन् । उनीहरु खेत खनजोत गर्नुका साथै आलु उत्पादनका लागि ब्याड बनाउनेदेखि अन्य काममा व्यस्त हुने गर्दछन् । वर्षको एकपटक वर्षायाममा मात्रै उत्पादन हुने र काम पनि एकपटक मात्रै गर्नुपर्ने यसको बजारमा माग बढी हुनुका साथै आफूलाई तरकारी खान सहज हुने भएकाले उनीहरु आलुखेती आकर्षित हुँदै गएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?