logo
२०८१ बैशाख १३ बिहीवार



खरिपाटीको व्यवस्थापन राम्रो

मुख्य समाचार |


खरिपाटीको व्यवस्थापन राम्रो


सरोज ढुङ्गेल

भक्तपुर, फागुन ५ गते । भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा रहनुभएका डा. सलिमा कक्षपति यतिखेर धेरै खुसी हुनुहुन्छ । चीनमा बन्धकझँै बसिरहनुभएकी उहाँलाई कहिले नेपाल जाऊँजस्तो लागेको थियो । चीनमा हुँदा खाना, पानी, मास्क, स्यानेटरीजस्ता सामग्रीको अभाव अनि बसेको ठाउँदेखि दायाँबायाँ गर्नै नहुने स्थिति थियो । नेपालमा आफन्तले बारम्बार फोन गर्दा उहाँलाई खल्लो महसुस हुन्थ्यो । कहिले सरकारले नेपाल लैजान्छ र ढुक्क हुन्छ भन्ने भइरहेको थियो । चीनमा हजाराँै व्यक्ति कोरोना भाइरस सङ्क्रमित भइरहँदा त्यहाँ रहेका नेपालीलाई पनि भाइरस सर्दैन भन्न सकिँदैनथ्यो ।

सोचेभन्दा बढी सुविधा र व्यवस्थापन
भक्तपुरस्थित खरिपाटीमाआइसकेपछि उहाँले सोचेभन्दा पनि राम्रो व्यवस्थापन पाउनुभयो । बस्न, खानदेखि इन्टरनेटको सुविधासमेत छ । उहाँलाई कतिपय नेपालीले सामाजिक सञ्जालतिर चीनबाट ल्याउने नेपालीहरू कोरोना भाइरस
(कोभिड नाइन्टिन) सङ्क्रमित हुन्, यिनीहरूलाई नेपाल ल्याउनै हुँदैन भनेर अफवाह फैलाएकोप्रति दुःख लागेको छ । आफूहरूबाट सङ्क्रमणको जोखिम नरहेकाले चीनबाट नेपाल ल्याइएको उहाँको भनाइ छ ।
नेपाल आउनुअघि चीनको विमानस्थलदेखि नेपालसम्म पटक पटक स्वास्थ्य परीक्षण गर्दा कुनै पनि लक्षण नदेखिएकाले आफूहरू सामान्य रहेको कक्षपतिको भनाइ छ । यस्तै चीनबाट नेपाल आउनुभएकी श्रद्धा श्रेष्ठले पनि सरकारले खान, बस्नदेखि अन्य सुविधा सोचेभन्दा धेरै राम्रो गरेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै नेपाल आएकाले आफूहरूलाई ‘कोभिड नाइन्टिन’को भाइरस नभएको र अरूलाई सर्न सक्ने सम्भावना नरहेको श्रेष्ठको भनाइ छ । उहाँले क्वारेन्टाइनमा रहँदा ज्वरो, रुघाखोकी देखिए तत्काल परीक्षण हुने र आइसोलेसनमा राखिने व्यवस्था सरकारले मिलाएकाले कसैलाई पनि नआत्तिन आग्रह गर्नुभयो ।

खकारको नमुना परीक्षण सम्पन्न
कोरोना भाइरस प्रभावित चीनबाट नेपाल ल्याइएका १७५ जनाको खकारको (थ्रोट स्वाब) स्याम्पल लिई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । कोरोना भाइरस भए नभएको रिपोर्ट भने बुधबार मात्र आउने छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले चीनबाट ल्याइएका नेपालीको खकार नमुना परीक्षणका लागि प्रयोगशालामा ल्याइसकेको जानकारी दिनुभयो । डा. झाले ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने भएकाले चार दिनसम्म लागेको जानकारी दिनुभयो । डा. झाका अनुसार क्वारेन्टाइनमा बस्ने नेपालीको नमुना परीक्षण गरिसकेपछि १४ दिनपछि पुनः नमुना परीक्षण गर्नुपर्छ । १४ दिनपछि पुनः उनीहरूको परीक्षण गर्नुपर्ने भएकाले चीनबाट ल्याइएका नेपाली १७ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्छ ।
कोरोना भाइरसको केन्द्रबिन्दु तथा सबैभन्दा बढी प्रभावित चीनको बुहानमा रहेका नेपाली लिएर आइतबार बिहान ३ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको विमान अवतरण गरेको थियो । विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दासमेत १७५ जनामा कुनै समस्या नदेखिएपछि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको थियो । चीनबाट नेपाल आउने १८० जना नेपालीले राजदूतावासमा निवेदन दिएकामा छ जनामा स्क्रिनिङका क्रममा ज्वरो देखिएपछि उनीहरू उतै रोकिएका थिए ।

आफन्त आउँदा खुसी
चितवनकी विमला श्रेष्ठलाई चीनमा रहेको छोरा कहिले आउँछ भन्ने लागेको थियो । “चीनमा कोरोना भाइरसको त्रासदी फैलिएसँगै छोराको उद्धार गरिदिन धेरै ठाउँ धाएकी थिएँ”, श्रेष्ठले भन्नुभयो, “शनिबार रातभरि नसुतीकनै बसेँ । ” श्रेष्ठले काठमाडौँ आउनासाथ छोराले मेसेन्जरमा फोन गरेर म आएँ आमा भन्दा त्यो क्षणको जति खुसी कहिल्यै नभएको अनुभव सुनाउनुभयो । “छोराको फोन आयो । म त आत्तिएछु, फोन उठाउन पनि अलमलमा परेँ”, उहाँले भन्नुभयो ।

सेनाका चिकित्सकको नेतृत्व
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले नेपाली सेनाका चिकित्सक नवीन फुयाँलको नेतृत्वमा क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरू खटिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र नेपाल रेडक्रस सोसाइटीले थप ५० जना स्वास्थ्यकर्मीलाई तालिम दिएर क्वारेन्टाइनमा खटाउन लागेको जानकारी दिनुभयो । सहप्रवक्ता दाहालका अनुसार आइतबार नै तालिम दिई स्वास्थ्यकर्मीलाई खटाइएको छ । १७५ जनालाई छुट्टाछुट्टै थर्मामिटर दिइएको छ । दिनको दुई पटक आफूले आफ्नै तापक्रम नाप्नुपर्छ । त्यहाँ रजिस्टर पनि राखिएको छ । उक्त रजिस्टरमा उनीहरूले आफ्नो तापक्रम उल्लेख गर्नुपर्छ । तापक्रम बढेको खण्डमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्छ ।

सरकारको उल्लेखनीय कदम
नेपालमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरस देखा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोनाविरुद्ध लाग्न र सावधानी अपनाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएसँगै तत्काल सरकारले ४३ शøयाको आइसोलेसन वार्ड तयारी गरेको थियो । त्यही बेलादेखि नै क्वारेन्टाइनका लागि आवश्यक तयारी भइरहेको थियो । सरकारले चीनबाट नेपालीलाई उद्धार गरेर ल्याएपछि चीनमा फसेका नेपाली, उनीहरूका अभिभावक र आमसर्वसाधारणले सरकारको प्रशंसा गरेका छन् ।

नागरिकलाई पहिलो पटक क्वारेन्टाइन
नेपालमा यति धेरै सङ्ख्यामा उद्धार गरी क्वारेन्टाइनमा राखिएको यो पहिलो घटना हो । योभन्दा पहिले केही सङ्ख्यामा नेपाली सेना तथा नेपाल प्रहरीलाई मात्र क्वारेन्टाइनमा राखिएको थियो । सरकारले यसअघि चीनको हुबेईमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउने तयारी गरे पनि विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्नुपर्ने भएकाले केही दिन ढिलाइ हुन गएको हो ।
क्वारेन्टाइनमा ६० वटा कोठामा १९९ बेड राखिएको छ । एउटा कोठामा उचित दूरीको फरकमा एकदेखि तीन जनासम्मको सामूहिक बसोबासको व्यवस्था छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?