logo
२०७९ असोज १९ बुधवार



हात्तीपाइलेको औषधि नखाँदा समस्या

मुख्य समाचार |


हात्तीपाइलेको औषधि नखाँदा समस्या


काठमाडौँ, फागुन २२ गते । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ । समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, तनहुँ, गोरखालगायतका जिल्ला छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदायस्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदायस्तरमा फैलिइसकेको छ । ती जिल्लामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली रहेका छन् । यी जिल्लामा समुदायस्तरको सङ्क्रमण एकपटक रोकिएर फेरि फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले झापा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, कैलाली र बागलुङमा यसअघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सङ्क्रमण यथावत् रहेको जानकारी गराउनुभयो ।

उहाँले यी १० जिल्लालाई लक्षित गर्दै फागुन २८ देखि हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्य सुरु गरिने बताउनुभयो । १० जिल्लामा फागुन २८ देखि नै अभियान सुरु हुनेछ । उहाँले रोग निवारणका लागि औषधि सेवन गर्नैपर्छ भन्दै यस विषयमा स्वास्थ्यकर्मीमात्र नभई, सञ्चार क्षेत्र र राजनीति क्षेत्रका मानिसले पनि सचेतना फैलाउन सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले पाँचवटा जिल्ला खोटाङ, गुल्मी, ताप्लेजुङ, सङ्खुवासभा र दोलखा जिल्लामा हात्तीपाइलेको कुनै पनि जोखिम नरहेको जानकारी गराउनुभयो । महतोका अनुसार सङ्क्रमण भएका पाँच जिल्लाको अध्ययन गर्दा शरीरमा हात्तीपाइलेको परजीवी हुने तर कुनै पनि लक्षण नदेखिने गरेको पाइएको बताउनुभयो । महतोका अनुसार ९५ प्रतिशतमा हात्तीपाइलेको परजीवी भए पनि कुनै लक्षण देखिँदैन ।

नेपालको तथ्याङ्कअनुसार ९५ प्रतिशतलाई लक्षण नहुने र त्यही परजीवी पछि गएर लक्षणसहित रोगका रूपमा देखापर्ने हुन्छ । उहाँले सङ्क्रमण रहेका १० मा पटक–पटक गरी १३औँ पटकसम्म पनि औषधि खुवाइसकिएको भन्दै यति धेरै औषधि खुवाउँदा पनि समुदायमा सङ्क्रमण नरोकिनुमा औषधिले काम नगर्नु हो भन्नुभयो ।

ती जिल्लामा पहिलेको भन्दा सङ्क्रमण दर घटेको उहाँको भनाइ छ । सरकारले हात्तीपाइले अभियानमा औषधिबाहेक एउटा जिल्लामा एक करोडभन्दा बढी बजेट खर्च गरेको छ । मानिसले त्यो औषधि नखाइदिँदा समस्या भइरहेको छ ।
३५ जिल्लामा हात्तीपाइले रोगका बिरामी २६ हजार १५३ जना छन् । तीमध्ये धेरैमा हाइड्रोसिलको समस्या छ । त्यस्तै स्तन सुन्निने, कहिलेकाहीँ खोकीमात्र लाग्ने, अण्डकोश र खुट्टा पनि सुन्निने हुन्छ । कहिलेकाहीँ यी कुनै पनि लक्षण नदेखिन सक्छ । धेरैजसोलाई लक्षण पनि हुँदैन ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हात्तीपाइले रोग सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा छ । उक्त प्रदेशमा सात हजार ४०७ जना र बागमती प्रदेशमा सात हजार २३५ जनामा यो रोग छ । यस्तै, मधेस प्रदेशमा चार हजार ९२०, सुदूरपश्चिममा तीन हजार ८२० जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जना हात्तीपाइलेका रोगी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?