सविता शर्मा
काठमाडौँ, फागुन ९ गते । राष्ट्रिय युवा परिषद्ले विभिन्न छवटा क्षेत्रमा युवा सञ्जाल गठन गरेको छ । युवा परिचालन वर्षलाई लक्षित गरी युवा सञ्जाल गठन गरिएको हो ।
राष्ट्रिय युवा परिषद्ले युवा सञ्जाल गठन तथा परिचालनसम्बन्धी आन्तरिक कार्यविधि, २०७६ जारी गरेर सञ्जाल गठन गरेको छ । कार्यविधिअनुसार आठवटा क्षेत्रमा मात्र सञ्जाल गठन गर्ने स्पष्ट पारिएको छ । सरकारले यो वर्षलाई युवा परिचालन वर्ष घोषणा गरेको छ । युवा सञ्जालमार्फत युवा परिचालनका कार्यक्रम सञ्चालन गरिने छ ।
प्रदेश तथा सङ्घीय युवा क्लब सञ्जालमा आबद्ध युवाको सञ्जाल, राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी युवाको सञ्जाल, वैदेशिक रोजगारीबाट फर्केका युवाको सञ्जाल, युवा पुनःस्थापनाको क्षेत्रमा काम गर्ने युवाको सञ्जाल, परम्परागत सीपमा आधारित पेसा व्यवसायमा संलग्न युवा सञ्जाल र सामाजिक सङ्घसंस्थामा क्रियाशील युवाको सञ्जाल गठन भइसकेको छ ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले कार्यविधिमा आठ क्षेत्र उल्लेख गरिए पनि थप क्षेत्रमा पनि सञ्जाल गठन गर्ने तयारी रहेको जानकारी दिनुभयो । उहाँले सबै क्षेत्रका युवालाई समेट्ने गरी विभिन्न क्षेत्रगत सञ्जाल गठन गरिने बताउनुभयो । क्षेत्रगत सञ्जाल गठन भएपछि मात्र सबै सञ्जालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय सञ्जाल गठन गरिने भएको हो ।
परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले राजनीतिक, विज्ञान तथा प्रविधिको खोज अनुसन्धान र नवप्रवर्तन, मजदुर, मेडिकल, कलाकार क्षेत्रलाई समेटर क्षेत्रगत सञ्जाल गठन गर्ने योजना रहेको बताउनुभयो ।
राष्ट्रिय युवा सञ्जाल गठन तथा परिचालनसम्बन्धी आन्तरिक कार्यविधिसमेत निर्माण गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी युवा परिचालन गर्नका लागि राष्ट्रिय कार्यविधि निर्माणको प्रक्रियासमेत सुरु भइसकेको छ । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा कार्यविधि निर्माण कार्यदल गठन भएको छ । तीन तहका सरकारलाई समेट्ने गरी राष्ट्रिय कार्यविधि ल्याउन लागिएको हो ।
उक्त कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरिने पौडेलले जानकारी दिनुभयो । सातै प्रदेश र ५० प्रतिशत महिला प्रतिनिधित्वसहितको राष्ट्रिय सञ्जाल निर्माण गर्न लागिएको ढुङ्गेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै क्षेत्रका क्षेत्रगत सञ्जालबाट कम्तीमा एक जना महिला अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ । ”
पौडेलले क्षेत्रगत सञ्जालका सदस्य, ५० प्रतिशत महिलासहितको २१ सदस्य रहेको राष्ट्रिय सञ्जाल गठन हुने बताउनुभयो । उहाँले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष वा निजले तोकेको परिषद्को सदस्य राष्ट्रिय सञ्जालको अध्यक्ष हुनसक्ने व्यवस्था कार्यविधिमा गरिएको जानकारी दिनुभयो ।
उपाध्यक्ष ढुङ्गेलका अनुसार सरकारले आगामी दशकलाई युवा परिचालन दशक मनाउने र त्यसको आधार वर्षको रूपमा यो वर्षलाई तोकिएको छ । राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ मा उल्लिखित प्राथमिकताका क्षेत्रहरूमा युवा परिचालन गरिने छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन चालू आर्थिक वर्षलाई युवा परिचालन वर्षको रूपमा मनाइने उल्लेख गरिएको छ ।
युवा परिचालनमार्फत लैङ्गिक, जातीय र छुवाछूतलगायत सामाजिक विभेद अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य गर्ने उल्लेख छ ।
यसैगरी सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाबाट युवा परिचालनमार्फत मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण, वृक्षरोपणजस्ता कार्य गरिने छ भन्ने बजेटमा उल्लेख छ ।