सविता शर्मा
काठमाडौँ, चैत ७ गते । सरकारले एकै स्थलमा २५ जनाभन्दा बढीको भीडभाड नगर्न निर्देशन दिए पनि बिहीबार दिउँसो प्रसूतिगृह, थापाथलीमा बिरामीको ठूलै भीड थियो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि बुधबार मात्र सरकारले भीडभाड नगर्न निर्देशन दिएको हो ।
कोरोनाबाट बच्न सरकारले सावधानी अपनाउन सतर्क गराए पनि अस्पताल परिसरमा यसको अनुभव हुन सकेन । यहाँ यसका लागि उपयुक्त व्यवस्थापन हुन सकेको छैन । कहीँ कतै पनि हात धुन साबुन पानीको व्यवस्था गरिएको छैन । अस्पतालमा भेटिनुभएकी कुरुवा लक्ष्मी लामाले भन्नुभयो, “हात धुने ठाउँ छैन, पानी छैन । भीडभाड छ । कोरोनाको डर छ । कतिन्जेल बस्ने यसरी ?”
परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालका निर्देशक प्राडा जगदीश्वर गौतमले हात धुने र सूचनामूलक सामग्री ठाउँठाउँमा राख्न बुधबार नै आवश्यक तयारी भएको जानकारी दिनुभयो । उहाँले बिहीबार यसको व्यवस्थापन भइसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “धारा फिट गर्दैछौँ । हात धुने व्यवस्था पनि गर्छौं ।” शौचालयमा पनि सरसफाइको कमी देखिन्छ । शौचालयका कतिपय ढोकाका चुक्कुल फुस्किएका छन् । पर्याप्त मात्रामा सरसफाइ भएको छैन । कोरोनाको महामारीले धेरैतिर बन्द भए पनि प्रसूतिगृहमा बिरामीको चाप कम हुन सकेको छैन । विशेष गरी यहाँ सुत्केरी हुन, गर्भवती र स्त्रीरोगको उपचारका लागि आउने गर्छन् । यहाँ विशेष अवस्थाका बिरामी आउने हुँदा सङ्ख्या कम हुनसक्ने देखिँदैन । निर्देशक गौतमले प्रसूतिगृहको सेवा रोक्ने र बिरामी फर्काउन सक्ने अवस्था नभएको बताउनुभयो ।
भिडियो एक्सरेका लागि कम्तीमा एक हप्तासम्म पालो कुर्नुुपर्ने अवस्था छ । अस्पतालामा जँचाउन आएका बेला समय लिएर मात्र पालो पाइन्छ । भिडियो एक्सरे गर्न पालो कुरिरहेकी २३ वर्षीया सुनिता परियारले भन्नुभयो, “छ÷सात दिनमा मात्र पालो आउँछ रे ।”
प्रसूतिगृहबाट औसतमा दैनिक साढे ६६५ जनाले सेवा लिने गरेका छन् । वार्षिक दुई लाखले सेवा लिने गर्छन् । सेवा लिनेको सङ्ख्या बढ्दो छ । निर्देशक गौतमले पाँच वर्ष अघिभन्दा अहिले सेवा लिनेको सङ्ख्या दोब्बर रहेको बताउनुभयो । दैनिक ६० जनाभन्दा बढी सुत्केरी हुने गरेका छन् । गत वर्ष मात्र प्रसूतिगृहमा २२ हजार १४७ जना सुत्केरी भएका थिए । यो वर्षको पहिलो छ महिनामा १२ हजार छ सय जना सुत्केरी भइसकेका छन् । त्यसैगरी यहाँ वार्षिक २० हजारले इमर्जेन्सी सेवा लिइरहेका छन् । पाँच सय बेडको प्रसूतिगृह वार्षिक २५ हजारसम्म बिरामी धान्न सक्ने अवस्थामा रहेको गौतमले बताउनुभयो ।
जटिल सुत्केरी, गर्भवती र स्त्रीरोगका बिरामीलाई देशभरबाट यहाँ सिफारिस गर्ने गरिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुत्केरी हुने क्रममा जोखिममा रहेकालाई हेलिकोप्टरबाट उद्धार गरी ल्याउने गरेको छ । यसरी ल्याइएकालाई पनि यहाँ नै सेवा दिने गरिएको छ ।
प्रसूतिगृहमा विशेष सुविधा
यहाँको उपचार निःशुल्क छ । निःशुल्क उपचार सेवा लिएर घर फर्कंदा यातायात खर्चसमेत पाइन्छ । गर्भवती अवस्थामा चार पटकभन्दा बढी जँचाउन र यहाँ नै सुत्केरी हुनेले फर्कंदा दुई हजार आठ सय रुपियाँ यातायात खर्च पाउँछन् । यसैगरी सुत्केरी मात्र भएकाले दुई हजार यातायात खर्च पाउँछन् । दुई दिनअघि बच्चा जन्माएर घर जान लाग्दा मुड्खु काठमाडौँकी रीतु तामाङ यातायात खर्च बुझिरहनुभएको थियो । उहाँले भन्नुभयो, “साथीले भनेर पैसा पाउँछ भन्ने थाहा पाएको हो, खुसी लागेको छ ।” यहाँ सञ्चालित सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत कतिपय औषधि निःशुल्क दिइन्छ । त्यहाँ नपाइने औषधि मात्र बाहिरबाट किन्नुपर्ने हुन्छ । अस्पतालमा रहेको ब्लड बैङ्कको सेवाले बिरामीलाई निकै राहत भएको छ ।
बिरामीको भर्ना र डिस्चार्जका लागि विद्युतीय प्रणाली प्रयोग गरिएको छ । यसका कारण सेवाग्राहीको सम्पूर्ण रेकर्ड विद्युतीय प्रणालीमै रहन्छ । अनलाइन टिकट र टोकनको व्यवस्था गरिएको छ । यहाँ गर्भवती, सुत्केरीलगायत स्त्रीरोगसम्बन्धी सम्पूर्ण उपचार गरिन्छ । पाठेघरको सम्पूर्ण उपचार, आङ खसेको बिरामीलाई निःशुल्क उपचार गरिन्छ । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको सुविधा पनि छ । निर्देशक गौतमले नेपालमा पहिलोपटक यहाँबाट यो सेवा सुरु भएको बताउनुभयो । पाँच वर्षदेखि यो प्रविधिको प्रयोग प्रसूतिगृहमा गरिएको हो ।
यहाँ बच्चाका लागि ४० र आमाका लागि १० वटा आईसीयू छ । दूरविनबाट ल्याप्रोस्कोपी गर्ने सुविधा पनि यहाँ छ । यसैगरी १४ वर्षसम्म बालबालिकाको उपचारको व्यवस्थासमेत गरिएको छ ।
यहाँ ७० जना मान्छे अट्ने कुरुवाघर छ । सेवाग्राहीका लागि तातो र चिसो पानीको व्यवस्था गरिएको छ ।
अस्पतालका असुविधा
अस्पतालमा सुविधा हुँदाहुँदै पनि केही असुविधा व्यवस्थापन गर्न अप्ठ्यारो भएको छ । अस्पतालमा एमआरआई मेसिन नहुँदा बिरामीलाई बाहिर पठाउनु परेको छ । गौतमले भन्नुभयो, “भौतिक सुविधा बढाउनु पर्नेछ । ठाउँको अभाव छ । कर्मचारी सबै अस्थायी छन् । गाह्रो भएको छ तर पनि बिरामी पठाउने ठाउँ छैन ।” जम्मा ६५० कर्मचारीमध्ये नेपाल सरकारको स्थायी दरबन्दीमा ६८ जना मात्र छन् । बाँकी कर्मचारी विकास बोर्डले नियुक्त गरेको छ ।
सुधार हुँदै प्रसूतिगृह
सिन्धुलीकी ईश्वरा चौहानले पहिलेभन्दा अस्पतालमा सुधार भएको अनुभव गर्नुभयो । उहाँले दुईवटा सन्तान यही अस्पतालमा जन्माउनुभएको हो । देउरानीको स्याहार गर्न अस्पताल आएकी उहाँ आठ÷दस जना आफन्तलाई स्याहार्न यही अस्पतालमा बस्नुभएको छ । उहाँले भन्नुभयो, “प्याड जहाँतहीँ फालिएको हुन्थ्यो, कपडा सुकाउने ठाउँ थिएन । अहिले त धेरै सुविधा हो । सफा राम्रो लाग्यो । पहिलाभन्दा शौचालय पनि राम्रो लाग्यो ।”
अङ्गिता थापाले छ वर्षपहिले बच्चा जन्माउन आउँदाको भन्दा यस पटक डाक्टर र नर्सको राम्रो व्यवहार पाएको अनुभव गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिला बोलाउँदा झर्को मान्थे, रिसाउँथे । अहिले मीठो, राम्रो बोल्छन् ।” सुत्केरी व्यथा लाग्दा श्रीमान्सँग बस्न पाएको खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “श्रीमान्सँग बस्न पाउँदा आड हुँदो रैछ ।”