logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना परीक्षणको दायरा फराकिलो

मुख्य समाचार |


कोरोना परीक्षणको दायरा फराकिलो


सरोज ढुङ्गेल

काठमाडौँ,, चैत २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर १२० जना कोरोना भाइरस (कोभिड–१९)को आशङ्कामा आइसोलेसनमा रहेको जानकारी दिएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँ उपत्यकामा १५ तथा उपत्यकाबाहिर १०५ व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।
सरकारले कोरोना परीक्षणको दायरासमेत बढाउँदै लगेको स्पष्ट गर्दै उहाँले पछिल्ला दिनमा दैनिक एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिनुभयो । प्रवक्ता डा. देवकोटाले हालसम्म एक हजार २७७ जना व्यक्तिको नमुना परीक्षण सकिएको भन्दै पछिल्लो २४ घण्टामा ९३ जनाको कोरोना परीक्षण भएको बताउनुभयो ।
प्रवक्ता देवकोटाले हालसम्म उपत्यकाबाहिर धरानमा ३९, पोखरामा १९, सुर्खेेतमा सात, हेटाँैडामा पाँच, जनकपुरमा पाँच र धनगढीमा चार जनाको नमुना परीक्षण सम्पन्न भइसकेको जानकारी दिँदै बुटवलमा पनि तत्काल प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताउनुभयो । कोरोना सङ्क्रमितको अवस्था सामान्य रहेको भन्दै उहाँले दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा अन्य सङ्क्रमितको उपत्यकाबाहिर उपचार भइरहेको जानकारी दिनुभयो । सङ्क्रमित पाँचमध्ये दुई जना काठमाडौँ, दुई जना बागलुङ र एक जना धनगढीमा उपचाररत छन् । हालसम्म नेपालमा पाँच जना मात्र सङ्क्रमित रहेको जानकारी दिँदै एक जना यसअघि नै उपचारपछि निको भएर घर फर्किएको उहाँले बताउनुभयो ।
पोखरामा सङ्क्रमित छैनन्
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरास्थित ल्याबबाट हालसम्म कुनै पनि व्यक्ति कोरोना भाइरस सङ्क्रमित नभएको प्रस्ट पारेको छ । शुक्रबार दिउँसो केही मिडियाले पोखरामा कोरोना पुष्टि भन्दै समाचार प्रकाशित गरेका थिए । प्रवक्ता डा. देवकोटाले पोखरामा थप एक जनामा कोरोना भाइरस रोगको सङ्क्रमण भएको भन्ने खबरमा सत्यता नरहेको स्पष्ट पार्नुभयो ।
खरिपाटीबाट नमुना सङ्कलन
यसैबीच प्रभावित देशबाट आएर खरिपाटी क्वारेन्टाइनमा राखिएका ९६ जनाको स्वाब सङ्कलन गरिएको छ । प्रवक्ता देवकोटाले क्वारेन्टाइनमा रहेकाहरूको नमुना सङ्कलन सकिएको भन्दै त्यसको रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?