logo
२०८१ मंसिर ८ शनिवार



‘अर्थतन्त्र बचाउने बजेट ल्याऔँ’

मुख्य समाचार |


‘अर्थतन्त्र बचाउने बजेट ल्याऔँ’


सविता शर्मा

काठमाडौँ, वैशाख २९ गते । अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भन्नुभएको छ ।
राष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा आइतबार उहाँले यस्तो धारणा राख्नुभएको हो ।
छलफलमा भाग लिँदै सांसद परशुराम मेघी गुरुङले कोरोनाका कारण आर्थिक वृद्धि घट्ने र गरिबी बढ्ने परिस्थिति भएको हुँदा यसबाट नागरिकलाई बचाउन, गरिब र विपन्नलाई भोकमरीबाट बचाउन, बन्दाबन्दीको असरबाट अर्थतन्त्रलाई बचाउने खालको बजेटमा जोड दिनुभयो ।
सांसद गुरुङले विदेशबाट रोजगारी गुमाएर फर्कने र स्वदेशमा भएका युवाका लागि पनि रोजगारी सिर्जना गर्न, नियमित आपूर्ति गर्न, महँगी रोक्न, स्रोत व्यवस्थापन गर्न र नयाँ कुराको खोजी गर्न बजेट केन्द्रित हुनुपर्ने सुझाव पनि दिनुभयो ।
सांसद रमेशजङ रायमाझीले स्वास्थ्य सेवालाई थप सुदृढीकरण गर्न, जनतालाई राहतको व्यवस्था गर्न र विदेशबाट रोजगारी गुमाएर फर्कने युवालाई सम्बोधन गर्नेगरी बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले सङ्घ र प्रदेशको सांसद विकास कोषको बजेटलाई सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्न सुझाव दिनुभयो । सांसद कोमल वलीले कृषि र पर्यटनमा विशेष जोड दिन र वैदेशिक रोजगारी र रेमिट्यान्सको विकल्प खोज्नुपर्छ भन्नुभयो ।
सांसद तारादेवी भट्टले पर्यावरण संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ बजेट केन्द्रित गर्न पनि सुझाव दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?