सविता शर्मा
काठमाडौँ, जेठ ५ गते । राष्ट्रिय सभा बैठकमा सत्तापक्षका सांसदले अहिलेको अवस्थालाई नीति तथा कार्यक्रमले प्रभावकारी रूपमा समेटेको दाबी गरेका छन् भने प्रतिपक्षी सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आइतबारदेखि छलफल सुरु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) सांसद नारायणकाजी श्रेष्ठले देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता स्वाभिमान र हितलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम आएको स्पष्ट पार्नुभयो । भारतले अतिक्रमण गरेको भूभागका सन्दर्भमा नीति तथा कार्यक्रममा ठोस रूपमा प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै उहाँले नेपाली भूमि समेटेर नक्सा प्रकाशित गर्ने ऐतिहासिक निर्णय सरकारले गरेको छ । लोकतान्त्रिक गणतन्त्र प्रभावकारी बनाउने दृढता सरकारले व्यक्त गरेको छ भन्नुभयो ।
सरकारले प्राथमिकताका साथ कोरोना मुक्त नेपाल बनाउने कुरालाई नीति तथा कार्यक्रमको केन्द्रविन्दुमा समेटिएको उहाँले बताउनुभयो । कोरोनाबाट जोगिन सजगता, व्यापक परीक्षण, स्वास्थ्य क्षेत्र बलियो बनाउने र मानवीय क्षति हुन नदिन रोकथाम, नियन्त्रण र उपचारको प्रक्रियालाई नीति तथा कार्यक्रमले प्रभावकारी रूपमा समेटेको भन्दै श्रेष्ठले प्रशंसा गर्नुभयो । राष्ट्रिय अर्थतन्त्र निर्माण र त्यससँग जोडिएका कार्यक्रमलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको उल्लेख गर्दै उहाँले कोरोनाबाट परेको प्रभाव र त्योसँग जोडिएका केही विशेष अभियान र कार्यक्रम ल्याएको पनि स्पष्ट गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले देश अहिले मानवीय र आर्थिक शिथिलताको अवस्थामा रहे पनि त्यसलाई ठोस ढङ्गले दिशानिर्देश गर्नेगरी नीति तथा कार्यक्रम आउन नसकेको आरोप लगाउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले वित्तीय हस्तान्तरणको वैज्ञानिक प्रणालीमा जान अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका सांसद रमेशजङ रायमाझीले स्वास्थ्य क्षेत्र ब(िलयो बनाउन स्वास्थ्य प्राविधिकको प्राधिकरण गठन गरेर अगाडि बढाउनुपर्ने प्रस्ताव गर्नुभयो ।
सांसद परशुराम मेघी गुरुङले मानव जीवनको रक्षा नै सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले विदेश र भारत–नेपाल सीमा क्षेत्रमा रहेका नागरिकलाई नेपाल फर्काउने कुरामा नीति तथा कार्यक्रमले सम्बोधन गरेको स्पष्ट पार्नुभयो ।
सांसद डा. विमला राई पौडेलले कोरोनामुक्त नेपाल बनाउने र यसको प्रभावबाट मुलुकलाई जोगाउनेमा केन्द्रित रहेर नीति तथा कार्यक्रम आएको स्पष्ट गर्नुभयो ।
सांसद डा. वेदुराम भुसालले नेपाली जनतालाई रोग र भोकबाट बचाउने प्रतिबद्धतासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभयो ।