नारायण काफ्ले
काठमाडौँ, जेठ ५ गते । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममाथि संसद्मा छलफल प्रारम्भ भएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ ।
छलफलका क्रममा सत्तापक्षका सांसदले सरकारले ल्याएको नीति तथा कार्यक्रम समयसापेक्ष र उपयुक्त भन्दै समर्थन गरेका छन् । प्रतिपक्षी दलका सांसदले वर्तमान आवश्यकताको सम्बोधन गर्न नसक्ने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै आलोचना गरेका छन् ।
प्रतिनिधि सभामा विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले वर्तमान आवश्यकतालाई सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बत(ाउनुभयो । उहाँले कोरोना (कोभिड–१९) जोखिम न्यूनीकरण गर्न सरकार असफल भएको बताउनुभयो । कोरोना परीक्षणको दायरा बढाउन नसकेको पनि उहाँको आरोप छ ।
नेता देउवाले पहिलो, सन्देश यो सरकारलाई कोभिड–१९ ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्नसक्ने हृदय छैन । तेस्रो, सरकारसँग यो अप्ठ्यारो बेला भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णतः असफल भएको छ भन्नुभयो ।
उहाँले नीति तथा कार्यक्रममा सरकार आत्म प्रशंसामा रमाएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रमले पछिल्ला दुई वर्षमा गरेका भनिएका कामसमेत तथ्यपरक नरहेको देउवाको भनाइ छ ।
दलीय आधारमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नीति तथा कार्यक्रमको समर्थन गर्नुभयो । उहाँले विपक्षी दलका नेता देउवाप्रति लक्षित गर्दै कतिपय नीति तथा कार्यक्रमको समर्थन गरिरहँदा पनि पूरै नीति कार्यक्रम काम नलाग्ने भन्नु आफूले नबुझेको टिप्पणी गर्नुभयो । उहाँले एकैछिन अघि त सकारात्मक कुरा आएको थियो । एकछिन पछि त एकदेखि २७६ सम्म कामै लाग्ने छैन भन्ने आयो भन्नुभयो ।
नीति तथा कार्यक्रम कोरोनाले सिर्जना गरेको बहुपक्षीय समस्यालाई सम्बोधन गर्नेगरी आएको नेम्वाङले बताउनुभयो । महामारी लम्बिएको अवस्था तथा रोजगारी गुमाएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्नेसमेत नीति तथा कार्यक्रमले परिकल्पना गरेको बताउँदै उहाँले कोरोना महामारीलाई कुनै पनि रूपमा सम्बोधन नगरेको भन्ने कुरा तथ्यहीन भएको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले वर्तमान आवश्यकता र जनताको जीवन रक्षाका दृष्टिकोणले नीति तथा कार्यक्रम अपूर्ण रहेको टिप्पणी गर्नुभयो ।
यस्तै समाजवादी पार्टीका उपेन्द्र यादवले सङ्कटग्रस्त अवस्थामा अर्थतन्त्र जोगाउने गरी कुनै ठोस योजना सरकारले ल्याउन नसकेको बताउनुभयो ।
सांसद मुकुन्द न्यौपानेले साना किसानलाई लक्षित गरेर राहतका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । यस्तै सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रमले प्राथमिकता समेट्न नसकेको बत(ाउनुभयो । तराईको बाढी नियन्त्रण, तटबन्ध निर्माण र मर्मतका विषय समेट्न नसकेको बताउनुभयो ।
सांसदहरू नारायणप्रसाद मरासिनी, नारायण खड्का, मीनाक्षी झा, गङ्गा चौधरी, केदार सिग्देल, भरत शाह, विमला विश्वकर्मा, उमेश श्रेष्ठ, दुर्गाकुमारी विश्वकर्मा, विद्या भट्टराई, नारायणप्रसाद खतिवडा, प्रदीप गिरी,शान्तिमाया पाख्रिन, निरुदेवी पाललगायतले नीति तथा कार्यक्रमउपर सुझाव दिनुभएको थियो । सोमबार पनि छलफल जारी रहनेछ ।