सविता शर्मा
काठमाडौँ, जेठ ६ गते । राष्ट्रिय सभाका सदस्यहरूले भारतीय सेना प्रमुखले अन्य मुलुकको उक्साहटमा नेपालले सीमाको विषयलाई उठाएको भन्दै दिएको विवादित अभिव्यक्तिको भत्र्सना गर्नु भएको छ ।
सरकारको नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भारतीय सेना प्रमुख मनोज मुकुन्द रजवानीले दिएको अभिव्यक्तिको भत्र्सना गर्दै सांसदहरूले उक्त अभिव्यक्ति फिर्ता लिनसमेत सचेत गराएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचेतक खिमलाल भट्टराईले रजवानीको अभिव्यक्तिप्रति आक्रोश पोख्दै भन्नुभयो, “त्यो अभिव्यक्ति नेपाली जनतालाई अपमान गर्ने अभिव्यक्ति हो । म त्यो अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्न चाहन्छु र भारतीय सेना प्रमुखले के बुझ्नुपर्छ भने नेपाल राष्ट्र कहिले पनि उपनिवेश भएन । ” नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सामयिक भएको र यसले अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गरेको दाबी उहाँले गर्नुभयो । प्रतिपक्षी सांसदहरूले लगाएको आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो, “सपना देखाउनेसँग प्रतिबद्धता भयो भने त्यो पूरा हुन सक्छ । ”
सांसद रामनारायण बिडारीले भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रति भत्र्सना व्यक्त गर्नुभयो । उहाँले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउने र उक्त भूमि समेटेर नक्सा सार्वजनिक गर्ने विषयलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेटेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका सांसद तारादेवी भट्टले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले भ्रष्टाचार न्यूनीकरण हुन नसक्ने दाबी गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनको रणनीति बनाउँदै अघि बढ्न सरकारलाई सुझाव समेत दिनुभयो ।
सांसद दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रियताको विषयलाई स्पष्टसँग सम्बोधन गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै समर्थन व्यक्त गर्नुभयो । सांसद जीवन बुढाले सयौँ वर्षसम्म चपेटामा परेको नेपाली राष्ट्रियतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान गर्दै विकास निर्माण, उत्पादन वृद्धि र युवा स्वरोजगारीको सिर्जना गर्न सरकारलाई सुझाव दिनुभयो ।
सांसद हरिराम चौधरीले कोभिड महामारीको परिस्थितिमा स्वास्थ्य क्षेत्रमा आएका कार्यक्रमले मूर्तरूप पाउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले स्थानीय अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउन ठोस कार्यक्रम आवश्यक भएकोमा जोड दिनुभयो । सांसद अगमप्रसाद वान्तवा राईले भारतले अतिक्रमण गरेको समग्र विवादित क्षेत्रको समस्या सम्बोधन गरेर नयाँ नक्सा प्रकाशित गर्नुपर्ने र पश्चिममा मात्र नभएर पूर्वमा समेत सीमा अतिक्रमणको समस्या रहेको बताउनुुभयो ।
सांसद रामचन्द्र राईले नक्सामा छुटेको भूभागलाई समेटेर नक्सा प्रकाशन गर्ने कुराको प्रशंसा गर्नुभयो ।