logo
२०८१ बैशाख ७ शुक्रवार



शल्यक्रिया गर्नुपर्ने बिरामी मारमा

मुख्य समाचार |


शल्यक्रिया गर्नुपर्ने बिरामी मारमा


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ २४ गते । देशव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमण बद्दै गएपछि शल्यक्रिया गर्नुपर्ने बिरामी सबैभन्दा धेरै मारमा परेका छन् । दिनहुँ अस्पतालैपिच्छे कोरोना सङ्क्रमणका बिरामी देखिन थालेपछि अस्पतालहरूले पनि तत्काल शल्यक्रिया गर्ने बिरामीलाई कोरोना परीक्षण गरेको पीसीआर रिपोर्ट आएपछि मात्र शल्यक्रिया गर्ने हुँदा सयौँ शल्यक्रिया गर्नुपर्ने बिरामी मर्कामा परेका हुन् ।
उपत्यकाका निजी तथा सरकारी अस्पतालहरूमा दिनहँुजसो अन्य रोगको उपचार गराउन आएकामध्येलाई कोरोना पुष्टि हुन थालेपछि अस्पतालहरूले शल्यक्रिया गर्नुपूर्व पीसीआर परीक्षण गराउनैपर्ने प्रावधान ल्याएका छन् ।
केही दिनयता महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल, किष्ट अस्पताल बालकुमारी, थापाथलीस्थित प्रसूति गृह, नर्भिक इन्टरनेसनल अस्पताल, ग्रान्डी अस्पताल टोखा, ह्याम्स अस्पताल धुम्बाराहीलगायतका अस्पतालमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालहरूमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेपछि अन्य बिरामीलाई समेत कोरोना परीक्षण नगरी शल्यक्रियालगायत अन्य उपचार गर्न चिकित्सक डराएका हुन् ।
एक महिनादेखि भोजपुरका बलिराम खम्बु ट्याक्टरले खुट्टा काटेपछि बालकुमारीस्थित किष्ट अस्पताल उपचारका लागि आउनुभएको थियो । उहाँको खुट्टाको तत्काल शल्यक्रिया गरियो तर घाउ झन् जटिल बन्दै गयो । त्यसपछि उहाँलाई पुनः घाउ सुकाउने एन्टिबायोटिक दिएर राखियो । एन्टिबायोटिकको डोज पूरा भएपछि शल्यक्रिया गर्ने भनिएको थियो तर शल्यक्रिया गर्ने अघिल्लो दिन मात्र गत शनिबार किष्ट अस्पतालमा एक जना उपचार गराइरहेका वृद्धलाई कोरोना पुष्टि भएपछि उहाँको शल्यक्रिया पनि कहिले गर्ने अत्तोपत्तो छैन ।
बलिरामले गोरखापत्रसँग कुरा गर्दै खुट्टाको शल्यक्रिया गर्न ठीक पारिएकोमा अस्पतालले पीसीआर परीक्षण गरेर मात्र शल्यक्रिया गर्ने भनेकाले आफू समस्यामा परेको बताउनुभयो । उहाँले अझै पनि पीसीआरको रिपोर्ट नआएको भन्दै एक सातामा दिनको तीन हजारको दरले २१ हजारभन्दा बढी खर्च भइसकेको सुनाउनुभयो । आकस्मिक शल्यक्रिया गर्नुपर्ने मानिसलाई तत्काल पीसीआर रिपोर्ट गर्दिए हुने थियो, बलिरामले भन्नुभयो, “मजस्ता धेरै व्यक्ति पीसीआर रिपोर्ट कुराइमा अस्पतालको बेडमा छटपटाइरहनु परेको छ । ”
यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा हातको शल्यक्रिया गर्न जानुभएका रेवती शर्मालाई पनि पीसीआर रिपोर्ट आएपछि मात्र शल्यक्रिया गर्ने भनेर झुलाएको एक साता भइसक्यो । अन्य अस्पतालका बिरामीलाई कोरोना देखिएपछि चिकित्सक बिरामी छुन डराइरहेका छन् । पीसीआार गर्नका लागि स्वाब सङ्कलन गरे पनि हालसम्म रिपोर्ट नआइपुगेको रेवतीको भनाइ छ ।
कोरोना सङ्क्रमण देखिएका अस्पताल तथा अन्य अस्पतालले पनि बिरामीको पीसीआर परीक्षण नगराई बिरामी छुन नमानेका कारण धेरै बिरामी समस्यामा परेका छन् । केही दिनअघि मनमोहन अस्पतालमा कोरोना देखिँदा त्यहाँका ६२ जना चिकित्सक, नर्सहरू क्वारेन्टाइनमा बस्नुपरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल सञ्चालित प्रयोगशालाले सङ्कलित नमुनाको चाप धान्न मुस्किल परेको बताउनुभयो । उहाँले सरकारले अटोमेटिक परीक्षण गर्ने मेसिनहरू मगाइसकेको जानकारी दिँदै ती मेसिनहरू काठमाडौँलगायत देशका प्रमुख सहरहरूमा राखिने बताउनुभयो । उहाँले देशका बिभिन्न भागमा धेरै स्वाब सङ्कलन गरेकाले पनि कोरोनाको रिपोर्ट आउन धेरै समय लाग्ने गरेको जानकारी दिनुभयो ।
यता त्रिवि शिक्षण अस्पतालमा भने नियमित हुने शल्यक्रिया नै बन्द गरिएको छ । कोरोनापछि नियमित हँुदै आएको शल्यक्रिया बन्द गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्काले नियमित शल्यक्रिया बन्द गरेको जानकारी दिँदै आकस्मिक शल्यक्रिया गर्दा बिरामीको हिस्ट्री हेरेर मात्र गर्ने गरेको बताउनुभयो ।
उहाँले बिरामी कोरोनाको महामारी फैलिएको ठाउँबाट आएको छ भने कोरोना परीक्षण गराउने गरेको बताउनुभयो । शल्यक्रिया गर्दा पनि त्यस व्यक्तिलाई सम्भावित कोरोना सङ्क्रमित भनेर सजकता अपनाएर शल्यक्रिया गर्ने गरिन्छ ।
यता ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले पनि नियमित शल्यक्रिया गर्नुपर्ने व्यक्तिलाई पीसीआर परीक्षण गराएर मात्र शल्यक्रिया गर्ने गरेको बताउनुभयो । उहाँले आकस्मिक गर्नुपर्ने शल्यक्रिया गर्दा चिकित्सक तथा नर्सले पीपीईको प्रयोग गर्ने गरेको जानकारी दिँदै शल्यक्रियापछि पनि बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाउने गरेको जानकारी दिनुभयो । कोरोनाको रिपोर्ट ढिलो आउने गरेको भन्दै उहाँले कुनै कुनै रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?