logo
२०८० चैत्र १६ शुक्रवार



‘दैनिक २० हजारको पीसीआर गरिनेछ’

मुख्य समाचार |


‘दैनिक २० हजारको पीसीआर गरिनेछ’


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ ३२ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताउनुभएको छ । नेपालमा हाल चारदेखि पाँच हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उहाँले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताउनुभयो ।
गोरखापत्र सँगको कुराकानीमा स्वास्थ्य राज्यमन्त्री रावतले भारतको सीमामा बसिरहेका नागरिकलाई मापदण्ड अनुसारको क्वारेन्टाइन नहुँदा कतिपय भारतबाट आएका नागरिक सङ्क्रमित भएको बताउनुभयो । सुरुमा सुदूरपश्चिममा केही सङ्क्रमित देखा परिसकेपछि स्वास्थ्य मन्त्रालयले ३५ जना डाक्टर त्यहाँ पठाएको अवगत गराउँदै कोरोना नियन्त्रण गर्न सरकारका तर्फबाट गर्ने सबै काम गरिरहेको जानकारी दिनुभयो ।
राज्यमन्त्री रावतले नेपालमा कोरोना सङ्क्रमित बढ्नुमा विदेश तथा भारतबाट आएका नागरिक मुख्य कारण हुन् भन्नुभयो । सरकारले कर्णाली प्रदेशलाई कोरोना सङ्क्रमितबाट बचाउन ग्रिनजोनमा राख्न खोजिएको प्रयास पनि असफल भएको उल्लेख गर्नुभयो । भारतमा भएका दाजुभाइ गाउँ आउँदा सङ्क्रमित भएर आएको भन्दै उहाँले गाडीमा पनि हुलमुल भएर सङ्क्रमित हुनुपरेको जानकारी दिनुभयो ।
यहाँ आइसकेपछि क्वारेन्टाइन व्यवस्थापन नभएर कतिपय दाजुभाइ सङ्क्रमित हुनुभयो । मन्त्री रावतले अधिकांश बाहिर गएर आएकालाई सङ्क्रमण भएको अवस्था छ भन्नुभयो ।
नियन्त्रण सम्भव छ
राज्यमन्त्री रावतले कोरोना नियन्त्रण सम्भव भएको बताउनुभयो । उहाँले समग्रमा अति उच्च जोखिम देखिएका प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश जोखिममा देखिएको हुनाले यसको व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसका लागि विश्व स्वास्थ्य सङ्गठनले बनाएको नियम पालना गर्नुको विकल्प नभएको उहाँको बुझाइ छ । मास्क लगाउने, सेनिटाइजर लगाउने, दूरी कायम गर्ने गर्नुपर्दछ । कोरोना नेपालमा मात्र होइन विश्वव्यापी समस्या बनेर आएको छ । यसको खोपको अनुसन्धान विश्वव्यापी रूपमा भइरहेको छ । उहाँले सरकारले हालै ल्याएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड प्रत्येक नागरिकले पालना गर्नसके कोरोनाबाट बच्न सकिने बताउनुभयो । हालसम्म कोरोनाको भ्याक्सिन तथा औषधि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले भारतबाट आउनेको सङ्ख्या कम नभएसम्म कोरोना नियन्त्रण गर्न सकिँदैन भन्नुभयो । सुरु सुरुमा दैनिक २५ हजारसम्म नेपाल भित्रिएका थिए भने पछिल्ला दिनमा त्यो सङ्ख्या घटेर पाँच÷छ हजारमा झरिसकेको बताउनुभयो ।
रावतलले अहिले नेपाल प्रवेश गर्ने नाका पनि कम गरिएको छ । अब नेपाल आइरहेका नेपाली नागरिकको पीसीआर परीक्षणमा प्राथमिकता दिनुपर्दछ । सङ्क्रमितलाई आइसोलेसनमा राख्ने र सङ्क्रमण नदेखिएकालाई घर पठाउनुपर्दछ भन्नुभयो । उहाँले पहिले परीक्षण गर्न विदेश पठाइने गरेकोमा अहिले प्रत्येक दिन पाँच हजारको पीसीआर परीक्षण नेपालमै हुनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।
रावतले भारतबाट आएका नागरिकलाई परीक्षण गर्नैपर्छ । मन्त्रालयले ११ वटा अटोमेसिन किन्ने र देशका प्रमुख सहरबाट ठूलो सङ्ख्यामा पीसीआर परीक्षण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । खुला सिमाना भएका कारण भारतमा सङ्क्रमितको सङ्ख्या नघट्दासम्म नेपालमा कोरोना घट्न गाह्रो हुने उहाँको भनाइ छ । भारतमा करोडौँ जनता सडकमै जन्मन्छन्, सडकमै सुत्छन्, सडकमै खान्छन् । अहिले त्यो जनसङ्ख्या सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै उहाँले विशेषतः भारतको महाराष्ट्रबाट जति नेपाल भित्रिनुभयो, उहाँहरू अधिकांश सङ्क्रमित रहेको बताउनुभयो ।
भारतमा महाराष्ट्र कोरोनाको उद्गमथलो रहेको भन्दै उहाँले त्यहाँ एउटा व्यक्ति सङ्क्रमित भइसकेपछि अन्य परिवारलाई पनि सहजै सङ्क्रमण फैलाएको उहाँको भनाइ छ । नेपालमा भारतको महाराष्ट्र जस्तो अवस्था छैन भन्दै रावतले हामीले ध्यान दिनुपर्छ हामी कोरोनाविरुद्ध लड्न सक्छौँ । भारतबाट आउने सङ्ख्या पनि कम हुँदै गएको छ भन्नुभयो । रोग नियन्त्रण गर्न पीसीआर बढाउनैपर्छ । निजी क्षेत्रका अस्पताललाई पनि कोरोनाको उपचारमा लगाउनुपर्छ भन्दै उहाँले सबै मिलेर कोरोनाविरुद्ध जुट्नुपर्ने बेला आएको बताउनुभयो ।
क्वारेन्टाइन गाउँगाउँमा अव्यवस्थित हुनसक्ने भन्दै केन्द्र र नेपाली सेनाले बनाएका क्वारेन्टाइन धेरै राम्रा रहेको बताउनुभयो । ती क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा बनाइएको उहाँको दाबी गर्नुभयो । हामीसँग कोरोना परीक्षण गर्न ‘रिएजेन्ट’ नहुँदा हामीले कोरोना परीक्षणका लागि विदेश (हङ्कङ) पनि पठाएको भन्दै उहाँले जेठसम्म आइपुग्दा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन देशका विभिन्न २२ ठाउँमा पु¥याइसकेको जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?