logo
२०८१ मंसिर ८ शनिवार



‘सावधानीपूर्वक आर्थिक गतिविधि’

मुख्य समाचार |


‘सावधानीपूर्वक आर्थिक गतिविधि’


नारायण काफ्ले

काठमाडौँ, असार १ गते । आर्थिक वर्ष २०७७/७८ को बजेटका तीनवटा आश्रित विधेयक पारित भएका छन् । प्रतिनिधि सभाले विनियोजन विधेयक यसअघि नै पारित गरिसकेको छ । तीन आश्रित विधेयक आइतबार पारित भएका हुन् । आर्थिक विधेयकमा दर्ता भएका संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् । सांसद प्रेम सुवाल, दिव्यमणि राजभण्डारीले आर्थिक विधेयकमा राख्नुभएको संशोधन प्रस्ताव अस्वीकृत भएका हुन् । यस्तै राष्ट्र ऋण उठाउने विधेयकमा सांसद मीनेन्द्र रिजालले दर्ता गर्नुभएको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
सरकारको अर्थ सम्बन्धी प्रस्ताव सञ्चालन, राजस्व प्रशासनका प्रचलित कानुन संशोधन र करका दर हेरफेर गर्न सदनमा आर्थिक विधेयक पेस गर्ने प्रचलन छ । विधेयकका केही दफा तत्कालै प्रचलनमा आउनेछन् भने कतिपय नयाँ आर्थिक वर्षबाट प्रचलनमा आउनेछन् ।
अर्थ मन्त्री डा. युवराज खतिवडाको प्रस्तावमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२४औँ संशोधन) विधेयक पारित भएका हुन् । तीन विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट वार्षिक बजेटका सबै विधेयक पारित भएका छन् । अब राष्ट्रिय सभाबाट पनि सबै विधेयक पारित भएपछि प्रमाणीकरणको प्रक्रिया अगाडि बढ्नेछ । आइतबार नै विधेयकको दफावार छलफल प्रतिनिधि सभामा भएको थियो ।
विधेयकको दफावार छलफलका क्रममा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री खतिवडाले कोरोना जोखिम न्यूनीकरणसँगै सावधानीपूर्वक आर्थिक गतिविधि अघि बढाइने बताउनुभयो । यस्तै मन्त्री खतिवडाले दूरसञ्चार कोषको रकम अहिले राजस्वमा दाखिला नगरेको बत(ाउँदै कतिपय निष्क्रिय कोषमा रहेको रकम परिचालन गर्ने नीति अनुसार केही कोष राजस्वमा बाँधिएको बताउनुभयो ।
उहाँले आन्तरिक व्यापार, भन्सार, आयात लगायतका क्षेत्र अब बिस्तारै सामान्य हुने बताउनुभयो । सरकारले अब असुल गर्ने राजस्व असार महिनामा असुल गर्ने र आर्थिक गतिविधि केही सहज हुने उहाँको भनाइ छ ।
सङ्क्रमण जोखिम न्यूनीकरण गरेर आर्थिक गतिविधि सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले विद्युतीय गाडी प्रवद्र्धनको पक्षमा सरकार रहेको स्पष्ट पार्नुुभयो । विद्युतीय गाडी उत्पादन गर्न केही लगानीकर्ता लगानी बोर्डमा आएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो । किसानले प्रयोग गर्ने रासायनिक मलको भन्सार नबढेको र नेपाल वायुसेवा निगम बाहेक अन्य कुनै पनि संस्थानमा सरकारले जमानत बसेर ऋण नलिएको पनि मन्त्री खतिवडाको भनाइ छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?