logo
२०८० चैत्र १६ शुक्रवार



थप सतर्कता अपनाउन आग्रह

मुख्य समाचार |


थप सतर्कता अपनाउन आग्रह


सरोज ढुङ्गेल

काठमाडौँ, असार २२ गते । काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै धेरैजसो अस्पतालमा भर्ना भएका कतिपय बिरामीमा कोरोना देखिएपछि थप सतर्क हुन अधिकारीले आग्रह गरेका छन् । कतिपय बिरामी सम्बद्ध अस्पतालमै उपचाररत छन् कतिपयलाई अन्यत्र सिफारिस गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे अस्पतालमा अरू नै रोगले भर्ना भएका बिरामीमा पनि कोरोना देखिन थालेको छ । कोरोना समुदायस्तरमा नफैलिए पनि उच्च सतर्कता जरुरी छ, डा. पाण्डेले भन्नुुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मेडिसिटी, बयोधा, त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, ग्रान्डी अस्पताल, कान्तिबाल अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएको थियो । यसैगरी नेपाल क्यान्सर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अल्का अस्पताल, छाउनीस्थित सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, ह्याम्स अस्पताल, स्टार अस्पताललगायतका
११ वटा अस्पतालमा कोरोना सङ्क्रिमत देखिएका छन् । अस्पतालमा अन्य रोगको उपचारका लागि भर्ना भए पनि परीक्षण गर्दा कोरोना देखिएको हो । तीमध्ये कतिपय अस्पतालका केही स्वास्थ्यकर्मीलाई समेत कोरोना सङ्क्रमण देखिएको छ । ललितपुर भैँसेपाटी मेडिसिटी अस्पतालमा उपचाररत एक बालकमा असार १६ गते कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो । यस्तै असार १८ गते बयोधा अस्पताल बल्खुमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले उपत्यकाका अस्पतालमा भर्ना भएका बिरामीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएकाले सचेत हुन जरुरी भएको बताउनुुभयो । उहाँले केही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको जानकारी दिनुुभयो ।
१७ असारमा नेपाल क्यान्सर अस्पताल ललितपुर हात्तीवनमा एक नर्स र एक बिरामीमा कोरोना पुष्टि भएको थियो । यसैगरी अल्का अस्पताल जावलाखेलमा दुुई जना नर्समा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सैनिक अस्पताल छाउनीमा उपचाररत तीन जना बिरामीमा कोरोना सङ्क्रमण रहेको गत असार १८ गते पुष्टि भएको थियो । यसअघि काठमाडौँ मन्डिखाटारस्थित ह्याम्स अस्पतालका दुुई जना स्वास्थ्यकर्मी र एक जना बिरामीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा खुट्टा भाँचिएर आएका बिरामीमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो भने मनमोहन कार्डियोथोरापिक तथा ट्रान्सप्लान्ट सेन्टरमा हेटौँडाबाट उपचारका लागि आएकी एक महिलामा कोरोना पुष्टि हँुदा त्यहाँ कार्यरत ६० जना चिकित्सक, नर्स क्वारेन्टाइनमा बस्नुपरेको थियो । यस्तै नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा पनि कोरोना पुष्टि भएको थियो । राजधानी अस्पताल, बल्खुमा पनि काठमाडौँ बाहिरबाट आएका एक बिरामीमा कोरोना देखिएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा एक सुत्केरी महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा कार्यरत दुई चिकित्सक र दुई नर्समा समेत कोरोना पुष्टि भएको थियो । हाल उहाँहरूले कोरोना जितेर डिस्चार्ज भइसक्नुभएको छ ।
गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित शिशुको मृत्यु भएको थियो । शिक्षण अस्पतालमा जन्मिएका र ४५ दिनसम्म अस्पतालमै रहेका शिशुमा अस्पतालबाटै कोरोना सङ्क्रमण भएको थियो । रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले उपचारका लागि तथा शल्यक्रियाका लागि अस्पताल आएका कतिपय बिरामीमा समेत कोरोना देखिएको भन्दै ती सङ्क्रमितको सङ्क्रमणको स्रोत खोजी भइरहेको जानकारी दिनुुभयो । डा. पाण्डेले कोरोना प्रभावित मुलुुक तथा प्रभावित क्षेत्रबाट उपचारका लागि उपत्यकामा बिरामी आएकालाई कोरोना देखिएको बताउनुभयो । उहाँले अहिले नै राजधानीमा समुदायस्तरमा कोरोना फैलिएको भने भन्न नमिल्ने बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?