logo
२०८१ जेष्ठ ८ मंगलवार



कोरोना फैलिएको स्थानमा मात्र सिलबन्दी

मुख्य समाचार |


कोरोना फैलिएको स्थानमा मात्र सिलबन्दी


देवबहादुर कुँवर

काठमाडौँ, साउन २५ गते । काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका अति आवश्यक सेवा बाहेक अन्य सबै सरकारी तथा गैरसरकारी कार्यालयले आवश्यक स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई सेवा सुुचारु गर्नेछन् ।
पहिलाको बन्दाबन्दीमा जस्तै सबै कार्यालय बन्द हुनेछन् भन्ने भ्रम कतिपयमा परेको भए पनि त्यस्तो बन्दाबन्दी नहुने सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले पुनः बन्दाबन्दी गर्ने निर्णय नभएको स्पष्ट पार्नुभयो । कुनै स्थान विशेष सिलबन्दी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई रहेको छ । समुुदायमा कोरोना (कोभिड–१९) सङ्क्रमण फैलिएको विश्लेषणका आधारमा स्थानीय तहको समन्वयमा विशेष क्षेत्र, टोल, बस्ती, घर तथा भवन, कार्यालय, व्यापारिक केन्द्र मात्रै सिलबन्दी गर्ने जानकारी काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दिनुुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट काठमाडौँ उपत्यकामा समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको जानकारी आएमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र वडा स्तरीय सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा मात्रै स्थानीय स्तरमा सिलबन्दी गरिनेछ । गृह मन्त्रालयले साउन २५ गते आइतबारबाट कोरोना सङ्क्रमण नियन्त्रण गर्न पुनः बन्दाबन्दी वा कुनै विशेष स्थान ‘सिलबन्दी’ तथा ‘बन्द’ गर्ने निर्णय नभएको स्पष्ट पारेको छ ।
काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आइतबारबाट मातहतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरेका थिए ।
जोर–बिजोरमा झन् कडाइ
कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रण गर्न आइतबारबाट काठमाडौँ उपत्यकामा ‘जोर–बिजोर’ सवारी सञ्चालनमा कडाइ गरिनेभएको छ । उपत्यकामा बिहीबारबाट पुनः जोर–बिजोर लागू गरिएको हो ।
काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुनेछन् । ती जिल्लाका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नागरिकमा आग्रह गरेका छन् ।
स्वास्थ्य सतर्कतामा लापरबाही, भीडभाड र असुरक्षित आवागमनका कारण उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको स्पष्ट पार्दै काठमाडौँका प्रजिअ दाहालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
उहाँले यस विषयमा उपत्यकामा तैनाथ सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायसँग छलफल भइसकेको छ । जोर–बिजोर कडाइका साथ लागू हुनेछ भन्नुभयो ।
नागरिकको बाक्लो भीड लाग्ने सरकारी तथा गैरसरकारी कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुख तथा पदाधिकारीलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड पूूरा गरी आवश्यक सतर्कता अपनाई सेवाग्राहीलाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, महानगरपालिका तथा नगरपालिका स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रदेखि वडा स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सक्रिय तुल्याई घरदैलो सचेतना जागृत कार्य सुरु गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?