logo
२०८० चैत्र १६ शुक्रवार



नारायणहिटीको बगैँचा र बङ्कर पुनर्निर्माण हुने

मुख्य समाचार |


नारायणहिटीको बगैँचा र बङ्कर पुनर्निर्माण हुने


काठमाडौँ, माघ २५ गते । नारायणहिटी दरबार सङ्ग्रहालयपरिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ । बगैँचा मासेर रेस्टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैँचा पुरानै स्वरूपमा निर्माण गर्ने जनाएको छ ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बगैँचालाई थप आकर्षक बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । “त्यत्तिकै छोड्ने हो भने फेरि बेवारिसे हुन्छ, झारपात उम्रिन थाल्छ,” उहाँले भन्नुभयो, “त्यही भएकाले बगैँचालाई पुनर्निर्माण गर्ने तयारी भएको हो ।” नारायणहिटीपरिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन दिइएको समाचारपछि बगैँचा र बङ्करप्रति आमचासो बढेको छ ।

त्यही भएर दरबारभित्रको ‘बगैँचा र बङ्कर’को पुनर्निर्माणले थप आकर्षित हुने अपेक्षा सङ्ग्रहालयको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबारभित्रको ऐतिहासिक ‘बगैँचा र बङ्कर’ मासेर रेस्टुरेन्ट निर्माणकार्यमा रोक लगाई निर्माणाधीन संरचना तत्काल भत्काउन निर्देशन दिनुभएको थियो ।

त्यसअघि मन्त्रालयका सहसचिव होमकुमार लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र रेस्टुरेन्ट निर्माणकार्यमा संलग्न बतास समूहलाई दोषी देखाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरेको हो ।

बतास समूहले ‘क्यान्टिन तथा कफिसप’ सञ्चालनका नाममा बगैँचालगायतका संरचना मासेर १४ रोपनीमा रेस्टुरेन्टका लागि नयाँ संरचना निर्माण गरेपछि मन्त्रालयले निर्माणकार्य रोक्नका साथै संरचना भत्काउन निर्देशन दिएको थियो । दरबारको बगैँचा निर्माणका लागि पर्यटन सचिव एवं सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानेले समेत चासो लिनुभएको छ ।

सचिव न्यौपानेसँग बगैँचामा थुपारिएको निर्माणजन्य फोहोर उठाउने विषयमा छलफल भएको सङ्ग्रहालयका उपसचिव अमृत महर्जनले बताउनुभयो । “निर्माणजन्य सामग्री बगैँचामै थुपारिएको छ, उठाउनका लागि पहल गर्दा बतास समूह सम्पर्कमै आएको छैन,” उपसचिव महर्जनले भन्नुभयो, “त्यहाँको फोहोर उठेपछि बगैँचा, बङ्कर र रातोघरको सम्बन्धमा थप छलफल हुनेछ । ”

पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि केही दिनअघिको नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकन तथा भ्रमणक्रममा सङ्ग्रहालयको विकास विस्तार, मर्मत–सम्भार, सुरक्षा र संरक्षणका लागि थप बजेट व्यवस्था गरिने प्रतिबद्धता गर्नुभएको थियो ।

धर्मशालाबाट बाहिरिएन बतास समूह
त्यस्तै, पशुपतिस्थित नेपाल–भारतमैत्री धर्मशालाबाट भने बतास समूह अझै बाहिरिएको छैन । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार, सम्झौता खारेजीको निर्णय भए पनि कानुनी प्रक्रियामा लैजान समय लाग्ने भएकाले सो अवधिसम्मका लागि धर्मशाला बतास समूहले नै सञ्चालन गर्ने बताउनुभयो ।

बतास समूहले धर्मशालाका नाममा होटल सञ्चालन गरेपछि मन्त्री आलेको निर्देशनमा त्यस्तो सम्झौता खारेज गरिएको थियो । कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता रद्द गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा मन्त्री आलेको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेज गरी बतास समूहलाई आवश्यक कानुन कारबाहीका लागि सदस्यसचिव डा. मिलनकुमार थापाको संयोजकत्वमा अर्को समिति गठन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?