logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना उपचार : २० प्रतिशत बेड छुट्याउनुपर्ने

मुख्य समाचार |


कोरोना उपचार : २० प्रतिशत बेड छुट्याउनुपर्ने
फाइल तस्बिर


सरोज ढुङ्गेल

काठमाडौंँ, साउन २७ गते । सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याएर हब अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको जानकारी दिनुभयो । कोरोना उपचारका लागि तोकिएका अस्पताल हब हुन् भने अन्य अस्पताल स्याटेलाइट हुन् । उपत्यका लगायत देशभर पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले हब र स्याटेलाइट अस्पतालका बिरामीलाई हब अस्पतालले व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

थपिए ३३८ सङ्क्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना देखिएको छ । प्रा. गौतमले काठमाडौँ ३६ जना, ललितपुरमा चार र भक्तपुरमा चार जनामा कोरोना पुष्टि भएको बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँका १२ र ललितपुरका एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो । यस्तै टेकु अस्पताल प्रयोगशालामा काठमाडौँका छ जनामा कोरोना देखिएको छ । नेपाल प्रहरी अस्पतालमा काठमाडौँका आठ जना, ललितपुर र भक्तपुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ ।
डा. गौतमले स्टार अस्पताल सानेपा प्रयोगशालामा काठमाडौँका आठ जना, ललितपुरका दुई जना र भक्तपुरका तीन जनामा कोरोना देखिएको बताउनुभयो । विधि प्रयोगशाला र ह्याम्स अस्पताल प्रयोगशालामा एक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा आठ हजार ४३२ जना व्यक्तिको पीसीआरबाट परीक्षण गर्दा ३३८ जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ ।

निको भए १६ हजार सङ्क्रमित
प्रवक्ता गौतमले सोमबार १४० जना उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिँदै नेपालमा कुल डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ४९३ पुगेको बताउनुभयो । उहाँले हालसम्म चारवटा जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित रहेको बत(ाउनुभयो । यस्तै सङ्क्रमित शून्य भएका जिल्ला छवटा र देशभरका क्वारेनटाइनमा १० हजार ७५९ जना रहेको जनाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका दुई जनासहित थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?