logo
२०८१ बैशाख ६ बिहीवार



राष्ट्रकवि माधव घिमिरेकाे निधन

मुख्य समाचार |


राष्ट्रकवि माधव घिमिरेकाे निधन


गाेरखापत्र अनलाइन 

काठमाडौँ, भदाै २ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको ५:५५ बजे निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो ।

केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।

दिवंगत घिमिरे लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मनुभएको थियो । उहाँले बनारसमा दर्शनमा शास्त्रीसम्मको अध्ययन पूरा गरेर शिक्षण क्षेत्रमा प्राध्यापन गर्नुभएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेपछि सदस्यदेखि कुलपतिसम्म पनि उहाँ बन्नुभयाे ।

राष्ट्रकवि माधव घिमिरेकाे निधन

काव्य लेखनको शुरूवात उहाँले विसं १९९४ मा ‘नव मंजरी’ कवितासंग्रह तथा विसं २०१३ मा ‘नया नेपाल’ कवितासंग्रह प्रकाशित गरेर गर्नुभयो । उहाँकी पत्नी गौरीको देहावसानपछि पत्नी वियोगको वेदनामा शोक काव्यको ‘गौरी’ रचना गर्नुभयो ।

महाकवि देवकोटाको मुना मदन पछि बढिपढिने काव्यको रुपमा यो काब्यले स्थान पाएकाे छ । उहाँका अरू महत्वपूर्ण काव्यहरूमा राजेश्वरी, राष्ट्र निर्माता, धरती माता, पापिनी आमा , शकुन्तला गीति नाटक, मालती मंगले, गीति नाटक मा विष कन्या, हिमालवारी हिमाल पारी, वाल कुमारी, देवकी आदि रहेका छन् ।

उहाँको मनको बाँध चलचित्रको एउटै गीत ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा’ कालजयी गीत हो । उहाँले बालसाहित्यिक क्षेत्रमा वाला लहरी, घामछाया, घामपानी आदि कृतिहरूको योगदान पनि दिनुभएको छ ।

सम्बन्धित समाचार 


राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा समस्या

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?