logo
२०८० चैत्र १५ बिहीवार



एक हजार ५६६ कोरोना मुक्त

मुख्य समाचार |


एक हजार ५६६ कोरोना मुक्त


सरोज ढुङ्गेल

काठमाडौँ, भदौ २१ गते । नेपालमा शनिबार एक हजार ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ४१ जना सङ्क्रमित देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार शनिबार १२ हजार ४७३ जनाको पीसीआर परीक्षणका क्रममा थप एक हजार ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको हो । शुक्रबार एक हजार ३५९ जनामा कोरोना पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबार सङ्क्रमित भएका एक हजार ४१ मध्ये ३४९ महिला र ६९२ पुरुष छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४५ हजार २७७ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८७० मात्र छ ।

उपत्यकामा थपिए सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ गरी ४०८ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार उपत्यकामा ४५४ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नौ सय पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार ३३४, ललितपुरमा ८८७ र भक्तपुरमा ६७९ सङ्क्रमित पुगेका छन् ।
कोरोनाबाट कतिपय जिल्ला भने मुक्त भएका छन् । मन्त्रालयका अनुुसार सङ्क्रमित शून्य रहेका जिल्ला छवटा छन् । पाँच सय भन्दामाथि सङ्क्रमित रहेका जिल्ला १२ वटा छन् । सङ्क्रमित शून्य रहेका जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला रहेका छन् । यस्तै पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् ।
डा. गौतमले देशभरका क्वारेन्टाइनमा छ हजार ५६१ जना रहेको बत(ाउनुभयो । उहाँले होम क्वारेन्टाइनमा आठ हजार चार जना रहेको जानकारी दिनुभयो । त्यस्तै संस्थागत आइसोलेसनमा नौ हजार ८६६ जना रहेका छन् । डा. गौतमले भेन्टिलेटरमा २४ जना र आईसीयूमा १६७ जना उपचाररत रहेको बताउनुभयो ।

थप नौको मृत्यु
गत २४ घण्टामा काठमाडौँका तीनसहित थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र छ पुरुष छन् ।

साताव्यापी सचेतना अभियान

देशमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साताव्यापी सचेतना अभियान सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यका लगायत देशभर कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै गएकाले जनचेतना स्वरूप सचेतना अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले बढी भीड हुने स्थानमा सचेतना अभियान सञ्चालन गरेको बताउँदै ती स्थानमा
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जनचेतना सुरुवात गरिएको बत(ाउनुभयो ।
प्रवक्ता गौतमले भीडभाड हुने ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्डबारे पनि अवलोकन गर्ने जानकारी दिनुभयो । उहाँले मास्क लगाए, नलगाएको अवलोकन गरी नलगाएकालाई निःशुल्क मास्क वितरण गर्ने, माइकिङ गर्ने जस्ता जनचेतनाका कार्यक्रम गरिने बताउनुभयो ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले कोरोनाविरुद्ध सचेतना अभियान एक सातासम्म रहने र त्यसको प्रभावकारिता अनुसार अगाडि बढ्ने बताउनुभयो । डा. कार्कीले अभियानका लागि हिसानले १० वटा बस उपलब्ध गराएको बताउनुभयो ।

जोखिममा स्वास्थ्यकर्मी

डा. सन्तोष पौडेल
निर्देशक राष्ट्रिय ट्रमा सेन्टर

अहिले देशमा कोरोना भाइरसले आक्रान्त बनाएको छ । कोभिड अस्पतालमा भन्दा अरू अर्थात् ‘ननकोभिड’ अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीलाई धेरै समस्या रहेको छ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा पनि २७ स्वास्थ्यकर्मीलाई कोरोना देखिएको छ । उहाँहरू अस्पतालमा हुनुहुन्छ भने उहाँहरूको सम्पर्कमा आएका झण्डै ७० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहनुभएको छ । हामीकहाँ ज्वरो आएर वा अन्य रोग लागेर आउने बिरामी हुँदैनन् ।
लडेर, दुर्घटनामा परेर, हातखुट्टा भाँचेर मात्र ट्रमा सेन्टर आउँछन् । उनीहरूको तत्काल उपचार गर्नुुपर्छ । उपचार नगरे अवस्था जटिल हुन्छ । त्यसैले हामीकहाँ धेरै स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । लक्षण नभएका बिरामी आउने भएकाले धेरै समस्या भएको छ । हिजो मात्र आईसीयूमा राखेको बिरामीलाई कोरोना देखियो । यस्तै बिरामीको कुरुवालाई पनि कोरोना देखिएको छ । कोभिडको उपचार गर्ने अस्पतालमा सतर्कता अपनाएर उपचार हुन्छ ।
ट्रमा सेन्टरमा आकस्मिक दुर्घटनाका बिरामी आउने भएकाले उपचार गर्ने डाक्टर, नर्स र बिरामीलाई पनि धेरै समस्या परेको छ । गएको दुई महिनादेखि समयमा शल्यक्रिया गर्न पाइएको छैन । बिरामीलाई दिएको समयमा शल्यक्रिया गर्न नपाउँदा समस्या उत्पन्न भएको छ । अहिले समुदाय स्तरमा कोरोना गइसकेकाले कसलाई कोरोना छ–छैन भन्ने अवस्था रहेन । त्यसैले आकस्मिक रूपमा बिरामी आउने हुनाले सबैभन्दा समस्या हाम्रो अस्पतालमा परेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?