logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाले गर्भवतीलाई थप पीडा

मुख्य समाचार |


कोरोनाले गर्भवतीलाई थप पीडा


सरोज ढुङ्गेल

काठमाडौँ, भदौ २८ गते । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् ।

पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उहाँ डिस्चार्ज हुनुभएको थियो ।
त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उहाँको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो ।
उहाँले जन्माउनुभएको शिशुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

गर्भवती महिलालाई दुःखैदुःख
अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्नुहुन्छ । उहाँ गर्भवती भएको सात महिना पुग्यो । उहाँले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गर्नुभयो । बन्धधदाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उहाँले सिभिल अस्पतालमा फोन गर्नुभयो ।
सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गर्नुभयो तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गर्नुभयो । नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह जानुभयो । नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उहाँको गर्भ खेर गयो ।
यस्तै जोरपाटीमा बस्नुभएका रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाउनुभएन । उहाँलाई गाह्रो भइसकेको थियो । उहाँले पनि त्यसअघि थापाथलीस्थित प्रसूति गृहमा नियमित परीक्षण गर्नुभएको थियो । राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उहाँले कोठामै बच्चा जन्माउनुभयो । यी दुई प्रतिनिधि पात्र मात्र हुन् । कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् ।

घट्यो अस्पताल आउने सङ्ख्या
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. सङ्गीता मिश्रले कोरोनाले सबैभन्दा बढी दुःख गर्भवती महिलाले पाएको जानकारी दिनुभयो । उहाँले नियमित परीक्षणमा आउनलाई समेत गर्भवतीलाई कठिन परेको जानकारी दिँदै धेरै कष्ट झेलेर आएकाहरूको भने सहज रूपमै उपचार भइरहेको बताउनुभयो । कोरोनाका कारण धेरै जना गर्भवती सङ्क्रमित भइरहेको जानकारी दिँदै डा. मिश्रले उनीहरूको परीक्षणमा रहेका चिकित्सक तथा नर्सले पनि ठूलो जोखिम मोलेर सेवा गरिरहेको बताउनुभयो । उहाँले सामान्य अवस्थामा दैनिक ८० देखि ८४ जनासम्म प्रसूति गृहमा सुत्केरी हुने गरेकोमा कोरोनाका कारण उक्त सङ्ख्या घटेर ४५ देखि ५५ जनासम्म सीमित रहेको बताउनुुभयो ।
चार महिनामा ८५ जनाको मृत्यु
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष चैत ११ गतेदेखि असारसम्म देशभर ८५ जना गर्भवती महिलाको मृत्यु भएको छ । त्यस महाशाखा अन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्य पौडेलले झन्डै चार महिनाको अवधिमा ८५ जनाको मृत्यु सङ्ख्या सामान्यभन्दा धेरै भएको जानकारी दिँदै सबैभन्दा बढी प्रदेश ५ मा २६ जना गर्भवती महिलाको मृत्यु हुन पुगेको बताउनुभयो ।

परीक्षण गर्न आउने घटे
मातृ तथा नवजात शिशु प्रमुख डा. पौडेलले कोरोना महामारीको समयमा विगतको तुलनामा गर्भ परीक्षण गर्न आउनेसमेत न्यून रहेको जानकारी दिनुभयो । चैत महिनामा मात्र २७ प्रतिशतले गर्भ परीक्षण गर्न आएको उहाँले जानकारी दिनुभयो । त्यस्तै असारमा २२ प्रतिशतले गर्भ परीक्षण गर्न आउने महिलाको सङ्ख्या घटेको छ ।
डा. पौडेलका अनुसार गत वर्ष चैत महिनामा २५ हजार ८०१ महिलाले नियमित गर्भजाँच गराएकोमा यो वर्ष भने १८ हजार ७१० जनाले मात्र गर्भ परीक्षण गराएको बताउनुभयो । गर्भवती महिलाले स्वास्थ्य संस्थामा गई नियमित चारपटकसम्म गर्भ परीक्षण गराउनुपर्ने हुन्छ । यस्तै वैशाखमा गत वर्ष २६ हजार ४१० ले गर्भ परीक्षण गराएकोमा यो वर्ष २० हजार २८० जनाले मात्र गर्भ परीक्षण गराएको बताउनुभयो ।

घट्न थाल्यो दर
अस्पतालमा प्रसूूति गराउनुुलाई संस्थागत सुुत्केरी भनिन्छ । डा. पौडेलका अनुसार संस्थागत सुत्केरी हुने दर पनि यो वर्ष घटेको छ । गत वर्ष चैतमा २८ हजार ६४९ जना संस्थागत सुत्केरी भएकोमा यो वर्ष चैत महिनामा २५ हजार २६५ जनाले सुत्केरी गराएका छन् ।

उच्च जोखिममा स्वास्थ्यकर्मी
थापाथलीस्थित प्रसूति गृहमा छ जना चिकित्सकसहित ३७ जना नर्स तथा अन्य कर्मचारी कोरोना पोजेटिभ भएका छन् । स्त्री तथा प्रसूति विशेषज्ञ डा. भोला रिजाल, डा. ज्ञानेन्द्रमानसिंह कार्कीलगायत सङ्क्रमित हुनुभएको छ । डा. रिजाल अहिले पनि अस्पतालमा उपचाररत हुनुहुन्छ भने डा. कार्की उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ ।
यस्तै बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सक तथा नर्स पनि सङ्क्रमित भएका छन् । सिभिल अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले सुत्केरी महिलाले आफू सङ्क्रमित हुँ भन्ने थाहा हँुदाहुँदै पनि सुरुमा जानकारी नदिँदा स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमणको जोखिममा परेको बताउनुभयो । उहाँले नागरिक अझै पनि कोरोनाबारे जागरुक हुन नसक्दा समस्या आएको बताउनुभयो ।

अस्पताल बन्द
भक्तपुर अस्पतालमा नियमित परीक्षणका लागि आउनुभएकी एक गर्भवती महिलासहित तीन जना बिरामीलाई कोरोना देखिएपछि भक्तपुर अस्पताल शुक्रबार र शनिबार बन्द हुन पुगेको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले गर्भवती महिलासहित अन्य बिरामीमा कोरोना देखिएकाले अस्पताल बन्द गर्नुपरेको जानकारी दिनुभयो । चैतदेखि नियमित सेवा दिँदै आएकोमा पछिल्लो समय गर्भवतीलाई कोरोना देखिएपछि अस्पताल बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?