logo
२०८० चैत्र १५ बिहीवार



सङ्कलित स्वाब सुरक्षित राख्न निर्देशन

मुख्य समाचार |


सङ्कलित स्वाब सुरक्षित राख्न निर्देशन


सरोज ढुङ्गेल

काठमाडौँ, असोज १ गते । नेपालमा बुुधबार एकै दिन थप एक हजार ५३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो एकैदिन देखिएको हालसम्मकै सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौँ उपत्यकाका साथै देशभर नै सबैभन्दा बढी सङ्ख्यामा कोरोना पुुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण पुुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार थपिएको सङ्ख्यासंँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५८ हजार ३२७ पुगेको जानकारी दिनुुभयो । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या भने १६ हजार २४२ मात्र रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
योसहित नेपालमा डिस्चार्ज हुने कुल सङ्क्रमितको सङ्ख्या ४१ हजार ७०६ पुगेको छ । यस्तै गत २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बुधबार काठमाडौँमा ६५२ जना, ललितपुरमा ६० जना र भक्तपुरमा २५ जना गरी कुल ७३७ जनामा सङ्क्रमण देखिएको हो ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर चार महिला र चार पुरुष गरी थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय, कास्कीका ७० वर्षीय पुरुष, बाराका ४६ वर्षीया, काभ्रेपलाञ्चोककी ५५ वर्षीया, काठमाडौँकी ७१ र ७४ वर्षीया महिला छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३७९ पुगेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि लिइएका स्वाब सुरक्षित तरिकाले स्टोर गर्न सम्बन्धित प्रयोगशालाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले कोरोना पोजेटिभ देखिएकाको एक महिना र नेगेटिभ देखिएकाको तीन महिनासम्म स्टोर गर्न सबै अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?