logo
२०८१ बैशाख १४ शुक्रवार



बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

मुख्य समाचार |


बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह


सरोज ढुुङ्गेल

काठमाडौँ, असोज १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गर्नुभयो ।
उहाँले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताउनुभयो । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उहाँले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले सङ्क्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

थप दुई हजार २५३ मा सङ्क्रमण
यसैबीच नेपालमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । शनिबार दुई हजार १२० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
प्रवक्ता गौतमले योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको जानकारी दिनुभयो ।

उपत्यकामा बढ्दो चाप
काठमाडौँ उपत्यकामा थप एक हजार ५९९ जनामा सङ्क्रमण देखिएको छ । प्रवक्ता गौतमले काठमाडौँमा एक हजार ३७३ जना, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना गरी कुल एक हजार ५९९ जनामा कोरोना देखिएको बताउनुभयो । यसैगरी आइतबार देशभर थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?