logo
२०८१ बैशाख १२ बुधवार



कोरोना सङ्क्रमणको अवधि लम्बिँदै

लक्षणविहीन सङ्क्रमित नौ दिनपछि र लक्षण भएको सङ्क्रमित १४ दिनपछि नियमित काममा निस्कन सक्ने सुुझाव

मुख्य समाचार |


कोरोना सङ्क्रमणको अवधि लम्बिँदै




सरोज ढुङ्गेल

काठमाडौँ, मङ्सिर १२ गते । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ ।
लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए ।
नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उहाँ घरमै एकान्तवास बस्नुभयो । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुुक्त नभईकन नियमित काममा निस्कन सकिएन भन्नुभयो ।
यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहनुभएका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सक्नुुभएको छैन ।
चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उहाँकी श्रीमती र दुई छोरीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । समाजमा भने अझै कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गर्दै विष्टले आफू सङ्क्रमित भएको सामाजिक सञ्जालमा राख्दा आफन्तबाटै उक्त पोस्ट हटाउन दबाब आएको सुनाउनुुभयो ।
चिकित्सकले नियमित काममा निस्कन मिल्ने भनेपछि सङ्क्रमित भन्ने बित्तिकै मानिसले छुट्टै दृष्टिकोणले हेर्छन् भन्ने डर रहेको छ । कतिपयमा लामो समयसम्म हल्का खोकी देखिएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी कोरोना सङ्क्रमण भएको १४ दिनपछि नियमित काममा आउन थालेका छन् । १४ दिनपछि पनि ती स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण भइरहँदा पनि स्वास्थ्य सेवामा फर्कनुको कारण स्वास्थ्यकर्मीमा भएको भाइरस अन्य व्यक्तिमा नसर्ने भएकाले हो ।

अस्पतालका प्रवक्ता तथा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला लक्षणविहीन सङ्क्रमित नौ दिनपछि र लक्षण भएको सङ्क्रमित १४ दिनपछि नियमित काममा निस्कन सक्ने बताउनुहुन्छ । डा. बाँस्तोलाले सङ्क्रमण मुुक्त भइएला र बाहिर निस्कौँला भन्ने सोच नबनाउँदा हुन्छ, त्यो अवधि बितेपछि कोरोनाले अर्को व्यक्तिलाई भाइरस सार्न सक्दैन भने सङ्क्रमण मुुक्त नभए पनि घरमै बसिरहनुपर्छ भन्ने छैन भन्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका अनुसार अघि बढ्नुपर्ने भन्दै उहाँले परीक्षण गर्दा सङ्क्रमण मुक्त (नेगेटिभ) हुनेको नतिजा आउने आशामा पैसा खर्च नगर्न आग्रह गर्नुभयो । सरकारले लक्षण भएकालाई मात्र पीसीआर परीक्षण निःशुल्क गर्ने व्यवस्था भए पनि पटक–पटक कोरोना परीक्षण नगर्न उहाँको सुुझाव छ ।
अर्का सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले लक्षण भएको अवस्थामा १४ दिन र लक्षण नभएको अवस्थामा नौ दिनपछि कोरोना परीक्षण गर्नुनपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?