logo
२०८१ बैशाख २२ शनिवार



पर्यटन ब्युँताउने सगरमाथा !

विचार/दृष्टिकोण |


पर्यटन ब्युँताउने सगरमाथा !


कृष्णमुरारी भण्डारी

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको समाचार सार्वजनिक भएको भोलिपल्ट लेखक, पत्रकार तथा बौद्धिक वामपन्थी नेता ८७ वर्षीय अरविन्द रिमालले सामाजिक सञ्जालमा आफूभित्रको उत्साह प्रकट गर्दै नेपाल राष्ट्र र नेपाली जनतालाई बधाई दिनुभयो । सगरमाथाको उचाइसँग सबैको उचाइ बढ्नेमा उहाँ गौरवान्वित हुुनुभयो !
‘बधाई, धेरै बधाई, हार्दिक बधाई – सगरमाथा ! हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्द शृङ्गारमा ‘सुन्दर, शान्त, विशाल !’ नेपालको गौरव सगरमाथा, तिमीलाई अभिनन्दन !’
‘तिमी बढ्यौ, मुलुक बढ्यो, हामी सबै अपवादबिना बढौँ– कसैलाई गिराउन नपरी । आफू अन्धो भए पनि तिम्रो गरिमा देखेका इतिहासकार बाबुराम आचार्यको प्यारो हे सगरमाथा, तिमीलाई सलाम !
ज्येष्ठ नागरिकको यो अभिव्यक्तिले नेपाल राष्ट्र तथा प्रत्येक उमेर समूहका नेपालीको आकाङ्क्षालाई गौरवसाथ अभिव्यक्त गरेकोले आलेखको शुरुवात रिमालकै अभिव्यक्ति लिएर गरिएको हो । नेपाली मनोभाव सकारात्मक र उज्यालोको खोजीमा कति व्यग्र छ भन्ने सङ्केत हो यो हृदयोद्गार !
नेपालमा भएको युगान्तकारी परिवर्तनपछिको नयाँ युगको प्रतीक बनेको छ सगरमाथाको उचाइ । उचाइ बेपत्ता बढेको होइन तर उचाइ साङ्केतिक छ । नेपालमा मात्र होइन कि क्षेत्रीय र अन्तर्राष्ट्रिय वृत्तमा पनि सगरमाथाको उचाइले उत्तिकै दह्रो प्रभाव पारेको छ । त्यसैले यसबाट स्वदेशमा रहेका हुन् वा विदेशमा सबै नेपालीलाई एकसूत्रमा बाँधेको र खुशी पनि बनाएको छ । सगरमाथा विश्वभर समाचारको ‘हेडलाइन’ बन्न पुगेको छ । यसले नेपाल गौरवपूर्ण दिशामा अघि बढ्न खोजिरहेको भावलाई स्पष्टसँग प्रतिविम्बित गरेको छ । कोरोना महामारीको आतङ्कमा पनि देशभर उल्लास, उमङ्ग र खुशियाली छाएको छ ।
भुइँचालोले थिलथिलो बनेको नेपालमाथि भारतले ज्यानमारा नाकाबन्दी लगाएको बेला देश र जनताले आफ्नो स्वाभिमान निहुराउनुपर्दैन, उत्तरतिरको छिमेकबाट हामी प्रशान्त महासागरसम्म पुग्न, भूपरिवेष्टित राष्ट्रको अधिकार सुनिश्चित गर्छौं भन्दै जनतामा जीवन सञ्चार गराएर ढाढस बढाउने नेपाल सरकारले त्यतिखेर लिएको अडान ऐतिहासिक छ । समुद्रसम्म पुग्ने बाटो हामीलाई दिन छिमेकी चीनलाई राजी गराउने सफलता महत्वपूर्ण छ । यसैवर्षको शुरुमा जननिर्वाचित संसद्बाट एकमतले प्राप्त लिपुलेक, कालापानी र टिङ्कर क्षेत्रलाई संविधानको अभिन्न अङ्ग बनाउने सफलता अर्को फड्को हो । अहिले सगरमाथाको उचाइ बढेको प्रचारप्रसारलाई राष्ट्रपति विद्यादेवी भण्डारीसँगै छिमेकी चीनका राष्ट्रपति सि चिन फिङ्गसमेतको एकै स्वरको स्वागत समर्थनले नेपाल र नेपालीलाई फेरि एकताबद्ध र गौरवान्वित बनाएको छ ।
सगरमाथा उचाइ मापनमा नेपाली प्राविधिकले देखाएको दक्षता र पाएको सफलता आफैँमा नेपाली क्षमताको मानक हो । यस कार्यमा लागेका सबैलाई साधुवाद ! मुलुक नै उनीहरूको कामबाट गौरवान्वित बनेको छ । आफ्नै बलबुता र खर्चमा नेपालले गरेको यो ऐतिहासिक कामले विश्वशिखरको उचाइ मात्र मापन गरेन कि प्राप्त परिणामलाई चीनका वैज्ञानिक÷प्राविधिकहरूले प्रशंसा गर्दा नेपालीहरूको क्षमता, दक्षता उच्चस्तरको रहेकोमा अब शङ्का रहेन । विगतमा आधुनिक प्रविधि नहुँदा पनि अनकन्टार, कठिन र सङ्घर्षपूर्ण तरिकाले सगरमाथाको मापन त भएकै थियो । धेरैपटक सहयोगमा पनि भयो ।
चिनियाँ राष्ट्रपति र परराष्ट्रमन्त्रीसमेतको सहभागिताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ । नेपाल र चीनबीच यो सहमति यस्तो समयमा भएको छ, जतिखेर नेपाल आफ्नो विदेशनीतिमा ‘प्याराडइम सिफ्ट’ गरिरहेको छ । दुबै छिमेकी भारत र चीनसँग राष्ट्रिय स्वाभिमान, समानता र स्वतन्त्र परराष्ट्र सम्बन्ध राखेसँगै विश्वका सबै देशहरूसँग सुमधुर र मित्रवत् सम्बन्ध राख्ने नेपालको घोषित नीति नै हो । चीनसँगको लामो हिमाली सिमाना र सगरमाथाको बारेमा फैलाउन खोजिएका अफवाहहरू सगरमाथाको उचाइबारे भएको सार्वजनिकीकरणपछि सदाका लागि अन्त्य भएको छ ।
यति नै बेला दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध पनि सकारात्मक दिशातिर अगाडि बढिरहेको छ । कालापानी लिपुलेकको नक्सा नेपालको संविधानको अङ्ग बनेपछि भारतसँग चिसिएको सम्बन्धलाई सुमधुर बनाउन पनि नेपाल सरकारको सक्रियता (इनिसिएटिभ) परिपक्व देखिएको छ । यो नेपालको परराष्ट्रनीतिले मारेको दूरगामी महत्वको फड्को हो । लामो समयदेखि शिथिल झैँ बनेको दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क) मा सशक्तता ल्याउन पनि सार्कको अध्यक्ष राष्ट्रको रूपमा नेपालले अगाडि सारेका अग्रसरताका परिणाम देखिन थालेका छन् । त्यसकारण सगरमाथाको थप उचाइ मापनमा प्राप्त सफलता दूरगामी महत्वको छ । सगरमाथा जहाँ थियो त्यहीँ छ तर पछिल्लो नेपाली इनिसिएटिभ र परम्परागत तथा आधुनिक दुबै विधिबाट सगरमाथाको मापन गर्दै नेपालले निश्चित गरेको ८,८४८.८६ मिटरको उचाइले १९५४ को भारतीय, १९९९ को अमेरिकी र २००५ मा चिनियाँहरूले गरेको अध्ययनलाई पनि ठोस निश्चिततासहित प्रष्ट पारेको छ ।
सगरमाथाको उचाइबारेमा जुन सहमति नेपाल र चीनबीच भएको छ त्यसले नेपाल‐चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ । यो नेपालको कूटनीतिको प्याराडमसिफ्टको एक आयामको रूपमा रहनेछ । त्यसैले यो यस्तो उत्सवको बेला हो, जसले प्रत्येक नेपालीलाई अब हामी पनि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा स्वाभिमानलाई सगरमाथा जस्तै उच्च राख्न अगाडि बढ्न, श्रम गर्न, उद्यमी बन्न र समृद्धि हासिल गर्न क्रियाशील हुन प्रेरणा दिएको छ ।
नेपाल सरकारले कालापानी–लिम्पियाधुरा र लिपुलेक समेटेर पारित गरेको नयाँ नक्सा प्रकरणले भूराजनीतिक पहिचान, सगरमाथाले भौगोलिक पहिचानलाई स्थापित गरेको छ । राष्ट्रिय एकताले मुलुकलाई गौरवान्वित र दृढ बनाउँछ । लोकतन्त्रले विविधतालाई दृष्टिगत गर्छ । राष्ट्रिय एकताले लोकतन्त्रलाई र लोकतन्त्रले राष्ट्रिय एकतालाई भरथेग गरेको देशले मात्र आफूलाई महाकवि देवकोटाले भनेझैँ सुन्दर, शान्त र विशाल राष्ट्र बनाउन सक्छ ।
सगरमाथा मापनमा नेपाल–चीन समझदारी दुई विशाल मुलुकबीच रहेको सानो मुलुक पनि एकपछि अर्को चुनौती र उल्झनलाई पन्छाउँदै कसरी गौरवान्वित बनेर समृद्धितिर अगाडि बढ्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो । एकपछि अर्को गर्दै राज्य र नागरिकलाई गौरवान्वित बनाउने काममा निर्वाचित सङ्घीय गणतान्त्रिक सरकार बधाईको पात्र बनेको छ । कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने भनाइ यहींनेर चरितार्थ हुनपुगेको छ । राजनीतिशास्त्रका विद्वान् भन्छन्, राज्य र नागरिक अर्थात् नेपाल र नेपालीलाई बलियो बनाउने प्रत्येक कार्यले कसैको अहित गर्दैन, देश र जनताको भलाइ गर्छ । किनभने स्थायी विषय नेपाल राष्ट्र र नेपाली नागरिक हुन् । सरकार होइन । सरकार निर्वाचनबाट आउँछ र निर्वाचनबाटै जान्छ । सबैले वैधानिकताका लागि आवधिक निर्वाचनको परीक्षामा सहभागी हुनुपर्छ । तर नेपाल र नेपाली हुन न चुनाव गर्नुपर्छ, न त जनमत सङ्ग्रह नै । यो स्थायी विषय हो । स्थायी कुरालाई बलियो बनाउनु भनेको घर र परिवारलाई समृद्ध बनाउनु जस्तै हो । देश र जनतालाई जति बलियो बनाउन सकियो त्यति नै त्यो सुदृढ हुन्छ । नेपाल सुदृढ हुनु, नेपाली नागरिक समृद्ध र खुशी हुनु भनेको नेपाल र नेपालीको श्रीवृद्धि हुनु हो ।
सगरमाथा नेपालको पहिचान हो । सगरमाथाको शिर ठडिनु भनेको नेपालको शिर ठडिनु हो किनभने संसारमै अन्यत्र सगरमाथा छैन । सर्वोच्च शिखर विश्वको तेस्रो धु्रव, ‘वल्र्ड वाटर टावर’ (विश्वको पानीधुरी) समेत भनिने सगरमाथा हेर्न संसारभरका मानिसले नेपाल नै आउनुपर्छ । अन्यत्र कहीँ कतै गएर विश्वको शिखर हेर्न पाइँदैन । त्यसैले सगरमाथा विश्वकै प्रतीक हो, जो नेपालमा छ । नेपाल नभनीकन पनि नेपाललाई चिनाउने अरू प्रतीक पनि नेपालमा छन् । सिद्धार्थ गौतम बुद्ध ! बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ । संसारकै एकतिहाइ जनसङ्ख्या बुद्धमार्गीहरूका लागि बुद्धभूमि आफैँमा पवित्र छँदैछ, अरूहरूका लागि पनि शान्तिका अग्रदूत बुद्ध जन्मिएको लुम्बिनी त्यत्तिकै आकर्षणको केन्द्र हो । भन्नैपर्दैैन, पशुपतिनाथ विश्वभरका हिन्दूहरूको केन्द्र हो । आराध्यदेव भोलेबाबा हिमालयका पर्याय नै हुन् । र, हिमालयको शिखर सगरमाथाको उचाइ भौतिक रूपमा बढेको छ । शताब्दी उमेरको नजिक पुग्न लाग्नुभएका अरविन्द रिमालले त्यसैले पनि सगरमाथा, नेपाल र नेपाली जनताको गौरवगाथा गाउन कन्जुस्याइँ नगरेको हुनुपर्छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेसँगै नेपाल र नेपालीलाई गौरवान्वित बनाउने एकपछि अर्को पत्र खुलिरहेछन् । आगामी दिनमा अझै खुल्दै पनि जानेछन् किनभने विश्वको ५१ करोड वर्गकिलोमिटर क्षेत्रफलको तुलनामा नेपाल डेढ लाख वर्गकिलोमिटर भन्दा पनि थोरै कम छ । विश्वको सानो क्षेत्रफल नेपालले ओगटे पनि यसमा रहेको विविधता विश्व जनमतलाई नै अचम्म पार्ने छन् । विश्वका सर्वोच्च एकदर्जन शिखरमध्ये दुईतिहाइ शिखर नेपालमै छन् । यहाँको वनस्पति र जीवजन्तुको विविधता, पुतली, चरा र फूलहरूको व्यापकता कुनै एक महादेशमाभन्दा बढी छ । नेपालका जातजाति, भाषा संस्कृतिसँगै विश्वमा भए जति सबै जलवायु झण्डै नेपालमा छ । यो भनेको संसारको सबै विविधता नेपालमा विद्यमान रहनु हो । खोज अनुसन्धान र जानकारी राख्न चाहनेहरूका लागि नेपाल जत्तिको विविधतायुक्त ठाउँ संसारमै दुर्लभ छ । कोभिड महामारीले आक्रान्त भएको पर्यटन व्यवसाय ब्युँताउन पनि यो सगरमाथाको नयाँ उचाइको प्रचारप्रसारले एक झिल्को देखाएको छ । अबको दुई वर्ष पर्यटन क्षेत्रको ‘ब्युटिफिकेसन’ र भौतिक पूर्वाधार निर्माण गर्न नेपालले सगरमाथासँगसँगै विश्वमा पर्यटन प्रवद्र्धन गरी आर्थिक उन्नति हासिल गर्नसक्ने विश्वास व्यक्त गर्नुहुन्छ सिर्जनशील पर्यटन व्यवसायी ज्योति अधिकारी । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अभियन्ता अधिकारी भन्नुहुन्छ, श्रमबिना, लगानी बिना, योजनाबिना जथाभावी गरिएको खर्चले पर्यटन विकास सम्भव छैन । पर्यटनमैत्री बनाउन केन्द्रदेखि प्रदेश र गाउँसम्म सबैमा जागरण ल्याउने कार्यक्रम ल्याउन सकियो भने कोरोना कहरपछि नेपालको पर्यटनले फड्को मार्न सक्छ ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?