logo
२०८१ बैशाख ६ बिहीवार



अग्रमोर्चामा रहेर बिरामीको सेवा

मुख्य समाचार |


अग्रमोर्चामा रहेर बिरामीको सेवा


सरोज ढुङ्गेल

काठमाडौं,  पुस ५ गते । कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण यो अवस्था देखिएको हो ।
चिकित्सकभन्दा नर्स सबैभन्दा बढी खटिने स्वास्थ्यकर्मीभित्र पर्दछन् । आईसीयूमा उपचाररत सङ्क्रमित होस् वा भेन्टिलेटरमा पु¥याइएका बिरामी होस् उनीहरूलाई नर्सले नै हेरविचार गर्नुपर्ने हुन्छ । बिरामीको हेरचाह गर्दा यतिखेर धेरै नर्स सङ्क्रमित हुन पुगेको पाइएको छ ।
वीर अस्पतालमा सयभन्दा बढी नर्स सङ्क्रमित भएका थिए । पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गङ्गालाल, हृदयरोग केन्द्र, शिक्षण अस्पताललगायत अन्य सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर्स अहिले सङ्क्रमित हुन पुगेका छन् । अधिकांश नर्सले कोरोना जितिसकेका छन् र अझै कतिपय जुधिरहेका छन् । केही नर्सको कोरोनाकै कारण निधन भइसकेको छ ।
कोरोना सङ्क्रमित भएर ११ दिनसम्म अस्पताल रहनुभएकी नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष कल्पना श्रेष्ठलाई कुनै रोग थिएन । कोरोना पोजेटिभ देखापरेपछि उहाँको फोक्सोमा निमोनिया देखाप¥यो । चार दिनसम्म होम आइसोलेसनमा रहनुभएकी श्रेष्ठ आफैँ नर्स भएका कारण नियमित पल्र्सअक्सिमिटरले अक्सिजनको मात्रा नापिरहनुहुन्थ्यो । चार दिन घर बस्दा अक्सिजनको मात्रा घटेर ९० भन्दा पनि कम भएपछि उहाँ अस्पताल जानुभयो ।
तीन दिन आईसीयूमा रहनुभएकी श्रेष्ठ आफू स्वास्थ्यकर्मी भएकै कारण समयमै उपचार पाएको बताउनुहुन्छ । “म अस्पताल आउँदासम्म केही भएको थिएन,” श्रेष्ठले भन्नुभयो, “अक्सिजनको मात्रा घटेपछि अस्पताल आएर उपचार गराएँ ।” उहाँले होम आइसोलेसनमा बसेका व्यक्तिले अनिवार्य पल्सअक्सिमिटर घरमा राखेर उपचार गर्न आग्रह गर्नुभयो । घरमा बस्दा अक्सिजनको मात्रा घटेको थाहै हँुदैन, त्यसैले पनि अन्तिममा मात्र थाहा पाएपछि फोक्सो खराब हुने र होम आइसोलेसनमै मृत्यु हुन्छ । सबै सङ्क्रमितलाई पल्सअक्सिजनको व्यवस्था गर्न सुझाव दिँदै उहाँले कोरोना केही होइन भन्ने भनाइको पछि नलाग्न आग्रह गर्नुभयो । नर्सिङ सङ्घको बैठकमा जाँदा कोरोना सरेको हुन सक्ने उहाँको अनुमान छ । श्रेष्ठ अहिले नियमित अस्पतालमा गएर नर्सिङ विद्यार्थीलाई पढाउन थाल्नुुभएको छ । यतिखेर उहाँको ड्युटी प्रसूति गृहमा परेको छ । उहाँलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै कोरोनाका कारणले पाटन अस्पतालकी नर्सिङ निर्देशक शान्ता डङ्गोललाई धेरै दिन अस्पतालको बास बस्नुपरेको छ । दशैँ टीकाको दिन जिउ दुख्ने, स्वाद थाहा नहुने लक्षण देखिएको थियो । टीका लगाएर सुतिसकेपछि उठ्दा ज्वरो १०२ डिग्रीभन्दा बढी थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा कात्तिक १२ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि उहाँ पाँच दिन घरमै बस्नुभयो ।
अक्सिजनको मात्रा ८५ पुगेपछि अस्पतालमा फोन गरेर भर्ना भएको उहाँको अनुभव छ । २१ दिनपछि कोरोना नेगेटिभ आउनेबित्तिकै अस्पताल आउन थाल्नुभयो । अस्पताल आएर काम गरेको एक सातापछि पुनः थकाइ लाग्ने, जिउ दुख्नेजस्ता समस्या भएपछि उहाँ एक हप्ता बिदा बसेर आराम गर्नुभएको थियो ।
“मलाई कोरोना लाग्नेबित्तिकै मैले जसरी पनि बाँच्छु भन्ने साहस लिएकी थिएँ,” नर्सिङ निर्देशक डङ्गोलले भन्नुभयो, “त्यही हिम्मत र साहसले कोरोनालाई पराजित गरेकी हुँ ।” कोरोना लागेपछि बिन(ालक्षण, बिनाउपचार गराउनेहरूले कोरोना केही होइन, रुघाखोकी जस्तै हो भनेर भ्रम नफैलाउन आग्रह गर्दै उहाँले कोरोना के हो लाग्नेलाई मात्र थाहा हुन्छ भन्नुभयो ।
शहीद गङ्गालाल हृदयरोग केन्द्रकी अप्रेसन कक्ष प्रमुख नर्स राज्यलक्ष्मी भेलेको छुट्टै अनुभव छ । उहाँका ७१ वर्र्षीया आमाको कोरोना लागेर निधन भयो । आमालाई अस्पतालमा हेरचाह गरेको पाँच दिनपछि उहाँलाई लक्षण देखियो, पीसीआर गर्दा पोजेटिभ आयो । जुन बेला उहाँको आमाको निधन भएको थियो । उहाँ आफैँ दमको समस्याले पीडित हुनुहुन्थ्यो ।
अस्पताल जाऊँ आमाको काजकिरिया गर्नुपर्ने समस्याले उहाँ अस्पताल नगई बस्नुभयो । अक्सिजनको मात्रा ८० सम्म झरेको थियो, भेलेले भन्नुभयो, “आमाको काजकिरिया गर्नुपरेका कारण माइतीको नजिकैको होटलमा बसेर आमाको काजकिरिया गरेँ ।” कोरोना नलाग्दासम्म केही होइन तर लागिसकेपछि जति गाह्रो बन(ाउँछ, त्यो बेलाको स्थिति सोच्नै नसकिने उहाँले बताउनुभयो । उहाँलाई अहिले पनि खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिन थालेको छ तर नियमित अस्पताल आएर बिरामीलाई सेवा दिइरहनुभएको छ ।
यस्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत नर्स सुजता गिरीले केही दिनअघि मात्र कोरोनालाई परास्त गर्नुभयो । उहाँ अस्पतालको आइसोलेसनमा १४ दिन बसेर निको हुनुभएको हो । उहाँलाई अरू कुनै समस्या थिएन तर कोरोना लागेपछिको ज्वरो, खोकी, जिउ दुख्नेजस्ता समस्या र सामान्य अवस्थाको ज्वरो खोकीमा धेरै भिन्नता रहेको उहाँले बताउनुभयो ।
व्यायाम गर्न खोज्दा श्वासप्रश्वासमा समेत समस्या हुन्थ्यो, नर्स गिरीले भन्नुभयो, “कोरोनालाई हल्का रूपमा लिनु ठूलो दुर्भाग्य हो ।” आफूलाई अरू कुनै रोग नभए पनि कोरोनाले धेरै गलाएको अनुभव उहाँसँंग छ । पौष्टिक तìव खानुपर्नेमा जति खाए पनि पखाला लागेको अनुभव उहाँसंँग छ । यस्तै १४ दिनपछि पनि जिउ दुख्ने, गल्ने, पखाला लाग्ने, अल्छी लाग्नेजस्ता समस्या अझै देखिरहेको छ ।
वीर अस्पतालमा कार्यरत नर्स गङ्गा दङ्गालले चार महिनासम्म अस्पतालको कोभिड कक्षमा कार्यरत भएर सङ्क्रमित बिरामीको सेवा गर्नुभयो । त्यही बेला सङ्क्रमण भएको उहाँलाई ज्वरो आउने, थकाइ हुने, स्वाद थाहा नपाउनेजस्ता समस्या देखिए । उहाँलाई अरूलाई जस्तो गाह्रो भएर अस्पताल भर्ना गर्नुपरेको थिएन । जुन लक्षण देखियो, त्यो लक्षण अति गाह्रो भएको नर्स दङ्गालको अनुभव छ । अहिले उहाँ वीर अस्पतालको मेल सर्जिकल वार्डमा कार्यरत हुनुहुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?