logo
२०८१ बैशाख ६ बिहीवार



दमरोगी जोगाउन स्याहार

मुख्य समाचार |


दमरोगी जोगाउन स्याहार


सरोज ढुङ्गेल

काठमाडौँ, पुस १२ गते । मानिसमा कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सबैभन्दा पहिला फोक्सोमा असर गर्दछ । छातीसम्बन्धी रोग लागिसकेका व्यक्तिलाई कोरोना सङ्क्रमणले झनै जटिल बनाउँछ । कोरोनाका कारण मृत्यु हुनेमा पनि दीर्घरोगीहरू पर्ने भएकाले चिसोमा दम रोगीलाई अझ बढी जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।
चिकित्सकका अनुसार पछिल्लो समय दम रोगको समस्याबाट पीडित रहेका मानिस अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । हल्का समस्या आउँदा घरमै बस्ने र जब मानिसलाई धेरै गाह्रो हुन थाल्छ, त्यो बेला मात्र अस्पताल पुग्ने हुँदा बचाउन कठिन हुन्छ । दम रोगीलाई जोगाउन घरमा पनि बढी स्याहार जरुरी हुन्छ ।
चिकित्सककाअनुसार चिसोमा ननिस्कने, चिसो खानेकुरा नखाने र पिउन तथा नुहाउन तातोपानीको प्रयोगले दम रोगीको स्याहारमा सहयोग पुग्छ । कोरोनाको महामारीसँगै वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ ।
वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले पहिले भेन्टिलेटरमा राखेका ८० प्रतिशत मानिसलाई बचाउन सकिएकोमा पछिल्लो समय ५० देखि ६० प्रतिशतलाई मात्रै बचाउन सकिएको अनुभव सुनाउनुभयो । कोरोनाले गर्दा मानिस अस्पताल नआउने, आइहालेमा पनि धेरै जटिल अवस्थामा मात्र आउने गरेकाले समस्या परेको उहाँको भनाइ छ ।
योबाहेक प्रदूषणकै कारण नेपालमा दम रोग बढेको छ । उहाँले अक्सिजन लगाइरहने व्यक्तिले पनि विशेष सावधानी अपनाउनुपर्ने जानकारी दिनुभयो । डा. पङ्गेनीका अनुसार प्रदूषणले उपत्यकामा दम रोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । वृद्धवृद्धा, शिशु र बालबालिकालाई अझ बढी जोखिम हुन्छ ।
डा. पङ्गेनीले जाडो मौसममा अस्पतालमा दम रोगका बिरामीको भीड बढ्ने गरेको बताउनुहुन्छ । डा. पङ्गेनी सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको तथ्याङ्क दिनुहुन्छ ।
तथ्याङ्कअनुसार विश्वमा २५ करोडभन्दा बढी मानिस दमका रोगी छन् । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गर्दछ । यस्ता रोगीमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक पर्छन् । चार वर्ष अघि गरिएको एक सर्वेक्षणमा नेपालमा नौ लाख ६० हजार मानिस दमका बिरामी रहेको पाइएको छ ।
विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दम खोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन् । नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दम खोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुषको दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ ।
वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले अस्पतालमा दैनिक २० देखि २५ जना बिरामी दमका आउने गरेको जानकारी दिनुभयो । उहाँले नेपालमा दमको समस्या अत्यधिक रहेको भन्दै जाडो मौसममा दम रोगीले विशेष ख्याल गर्नुपर्ने सुझाव दिनुभयो ।

डा. ढुङ्गानाका अनुसार ४५ वर्षमाथिका व्यक्तिलाई दम रोग लाग्न सुरु गर्ने गरेको छ । उमेर ५० नाघेका चारमध्ये एक जनामा दमसम्बन्धी समस्या देखिन्छ । बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने र तिनीहरूको सङ्ख्या पनि थपिँदै जाँदा यस्ता बिरामीको सङ्ख्या झनै बढ्दै गइरहेको छ ।
दम तथा श्वासप्रश्वास रोगको प्रमुख कारक तìव धूमपान र वायु प्रदूषण मुख्य रहेको बताउँदै डा. ढुङ्गानाले भन्नुभयो, “धूमपान गर्नेलाई त्यसको मुख्य असरमध्ये दमखोकी एक प्रमुख समस्या हो ।” एक अध्ययनअनुसार २७ प्रतिशत पुरुष र छ प्रतिशत महिलाले धूमपान गर्ने गरेको पाइएको छ ।
डा. ढुङ्गानाले प्रदूषण, घरभित्र र बाहिरको धुवाँ, धुलो, गाडीबाट निस्कने धुवाँले समेत दम रोगका बिरामीहरू बढेको जानकारी दिँदै दमबाट बच्न प्रदूषणबाट बच्नुपर्ने सुझाव दिनुभयो । लामो समयदेखि लागेको दम ४० वर्ष कटिसकेपछि देखिन सक्ने भन्दै १५ वर्षभन्दा तलका बालबालिकालाई पनि दम रोग देखिने गरेको छ । उहाँले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि अस्थायी किसिमको दम रोग देखिने बताउनुभयो । वंशाणुगत कारण पनि दम रोगका बिरामी बढ्ने
गर्दछन् । उहाँले एक प्याकेट धूपबाट निस्कने धुवाँ एक सय खिल्ली चुरोटभन्दा बढी हानिकारक हुने जानकारी पनि दिनुभयो ।
उहाँले निरन्तर चुरोट खाने व्यक्तिलाई कालान्तरमा दमको समस्या हुने गरेको अनुभव सुनाउनुभयो । हिमाली, पहाडी क्षेत्र तथा तराईमा दाउरा र गुइँठाले खाना पकाउने चलन छ । त्यस क्षेत्रका मानिसमध्ये ४० प्रतिशतलाई दमको समस्या देखा पर्ने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?