सरोज ढुङ्गेल
काठमाडौंँ, पुस १९ गते । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने मुख्य समस्या श्वासप्रश्वाससम्बन्धी हो । त्यसमा रुघाखोकी, नाक बन्द हुने, घाँटी दुख्ने, टन्सिल लगायतका समस्या हुन्छन् । उहाँका अनुसार चिसो फोक्सोसम्म पुगेपछि ब्रोनकाइटिक्स, निमोनियाको समस्या देखा पर्छ । विभिन्न प्रकारका भाइरसबाट यी रोग लाग्ने गर्दछ । श्वास नलीमा सङ्क्रमण हुने, दमको समस्या पनि हुन्छ ।
जाडोमा बालबालिकालाई झाडापखाला पनि हुने गरेको जानकारी दिँदै डा. पौडेलले रोटा भाइरसले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई सताउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरसफाइको कमी भयो भने छालाको सङ्क्रमण हुने गर्दछ ।” चिसोमा सरसफाइको कमी हुने र छालासम्बन्धी रोगले सताउने गर्दछ । छालाको समस्यामा जुम्रा पर्ने, चायाँ पर्ने गर्छ भने कतिपय अवस्थामा सुक्खा छाला भएर पनि समस्या उत्पन्न हुन्छ । चिकित्सकले यसलाई फङ्गल सङ्क्रमण भनेका छन् ।
चिकित्सकका अनुसार जाडोको समयमा घरको भ्यालढोका बन्द गरेर राति सुत्दा थप जटिलता हुन्छ । झ्यालढोका थुनेर हिटर तापेर बस्नाले कार्बन मोनोअक्साइड हुने र मानिसको मृत्युसमेत हुने गर्दछ । हिटर तापेर बस्ने हो भने पनि हावा लाग्ने ठाउँ छोड्नुपर्ने हुन्छ । बच्चालाई धेरै तातो बनाउने क्रममा भित्रभित्रै पसिना आएर बच्चा भिज्ने र निमोनियाको समस्या देखा पर्ने हुनाले सतर्कता अपनाउनुपर्ने विज्ञहरू सुझाउँछन् ।
कोरोना भाइरसको जोखिम पनि छँदैछ । कुनै व्यक्तिलाई सङ्क्रमण छ भने ती व्यक्तिबाट टाढै रहनुपर्छ । बच्चालाई जलविनियोजन हुने सम्भावना हुन्छ । बच्चाको मिर्गौलासमेत फेल हुने अवस्था आउन सक्ने औँल्याइएको छ । वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाका अनुसार निमोनिया जाडोबाहेकको अन्य समयमा समेत हुन सक्छ तर जाडोमा बालबालिकालाई निमोनियाको उच्च जोखिम हुन्छ ।
निमोनियाबाट बच्न पोषणमा ध्यान दिनुपर्नेमा जोड दिँदै डा. धाख्वाले छ महिनासम्मको बच्चालाई अनिवार्य स्तनपान गराउन सुझाव दिनुभयो । यस्तै सन्तुलित आहार खुवाउने, आमाले सरसफाइमा ध्यान दिने, भीडभाडबाट समेत टाढै रहन उहाँले सुझाव दिनुभयो । चिकित्सकको सुझावअनुसार बालबालिकालाई उमेरअनुसार खोप लगाउनुपर्छ । निमोनियाविरुद्धको खोप लगाउनुपर्छ । रुघाखोकी लागेको मानिसबाट टाढा बस्नुपर्छ ।
यतिखेर विद्यालय बन्द भएर वा कोरोनाले गर्दा अस्पतालमा आउने बालबालिका कम मात्रामा आउने गरेको भन्दै डा. पौडेलले कोरोनापछि हुने समस्याले गर्दा बालबालिका अस्पताल आउन थालेको जानकारी दिनुभयो । भाइरस सङ्क्रमणपछि रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र निमोनिया देखिने उहाँको भनाइ छ । बालबालिकालाई निमोनिया भयो भने जाडो मौसममा अरू पनि जटिलता थपिने हुँदा अभिभावक विशेष चनाखो हुनुपर्छ ।
कान्ति अस्पतालमा अहिले दैनिक तीन सय बिरामी आउने गरेका छन् । बाहिरबाट ‘रिफर’ भएका बिरामी, रक्तअल्पता, ज्वरो, मिर्गौलाका बिरामी, कोभिडपछि जटिल समस्या लिएर बिरामी अस्पताल आउने गरेका छन् । यस्तै जाडोमा श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ज्वरो आई श्वासप्रश्वासमा समस्या आएमा चिकित्सकले निमोनियाको सङ्केत भएको भनी छातीको एक्सरे, रगत परीक्षण गरेर छातीको समस्याका लागि निमोनियाको औषधि दिने गरेका छन् ।
“यस्तो गर्नु आवश्यक छैन,” डा. धाख्वा भन्नुहुन्छ, “समस्या एउटा उपचार अर्काे हुँदा समस्याको जड त पत्ता लगाउन सकिन्न नै, यसबाट समय र पैसासमेत खेर गइरहेको छ ।” नेपालमा पनि बालबालिकामा ‘ब्रोनकाइटिक्स’को समस्या धेरै छ । उहाँले ब्रोनकाइटिक्स समस्यालाई निगरानीमार्फत नै निको पार्न सकिने बताउनुभयो ।
जाडोयाममा अस्पताल भर्ना भएका अधिकांश बिरामी बालबालिकामा यही समस्या हुने गर्दछ । एक वर्षमुनिका ९० प्रतिशत बालबालिका ब्रोनकाइटिक्स समस्याबाट ग्रसित हुने गरेका छन् । अहिले अस्पतालमा भर्ना भएकामध्ये अधिकांश बालबालिका ब्रोनकाइटिक्स समस्याबाट पीडित भएका नै छन् ।
बच्चालाई ज्वरो आउनु, रुघाखोकी लाग्नु, फोक्सो खुम्ची सास फेर्न गाह्रो हुनु, कोखा हान्नु ब्रोनकाइटिक्सका लक्षण हुन् । जाडोमा बच्चालाई न्यानोमा राख्ने, आमाको दूध खुवाउने, भीड र प्रदूषणबाट बच्चालाई टाढा राख्ने, अक्सिजनको मात्रा जाँच्न उचित निगरानीमा राख्ने, नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ ।