logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाविरुद्धको खोप आजदेखि

मुख्य समाचार |


कोरोनाविरुद्धको खोप आजदेखि


सरोज ढुङ्गेल

काठमाडौंँ, माघ १४ गते । नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हँुदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको एक विशेष समारोहबीच शुभारम्भ गर्दै हुनुहुन्छ ।
खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले चार लाख ३० हजारलाई पहिलो चरणमा खोप लगाइने जानकारी दिनुभयो । प्रवक्ता गौतमले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ खोप सातै प्रदेशमा पहिलो चरणमा लगाइने र पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने बताउनुभयो ।
नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ । नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति भएर लगाउन सुरु गरिँदैछ ।
विभागले आपत्कालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृति दिएको थियो । खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ भने यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ । खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालमा आएको खोपलाई दुई डिग्रीदेखि आठ डिग्री सेल्सियसमा तापक्रम व्यवस्थापन गरी भण्डारण र ढुवानी गर्नुपर्ने जानकारी दिँदै खोप उत्पादन भएको छ महिनासम्म प्रयोग गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार खोप भण्डारण गर्दा कोल्डचेन प्वाइन्टमा आईएलआर भ्याक्सिन राख्ने आइस लाइन रेफ्रिजेरेटरमा दुईदेखि आठ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ । सरकारले बुधबार ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रबाट एकसाथ सुरु गर्दैछ  । सरकारले पहिलो चरणको खोप अभियान एक हप्ताभित्र सम्पन्न गर्ने योजना बनाएको छ । काठमाडौँं उपत्यकामा ११ वटा प्रमुख अस्पतालबाट खोप लगाइनेछ । खोप लगाउने केही अस्पतालको निरीक्षण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले गर्नुभएको छ ।
उपत्यकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, काठमाडौंँ मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी बलम्बु अस्पताल र शहीद गङ्गालाल अस्पतालबाट सुरु गरिनेछ ।
खोप प्रमुख गौतमका अनुसार खोपको पहिलो डोजपछि गम्भीर एलर्जी एनाफाइलेक्सिस भएमा खोप लगाउनु हुँदैन । खोपको कुनै पनि तत्वको गम्भीर एलर्जी (एनाफाइलेक्सिस) भएमा, यसभन्दा अघि अरू कुनै कारणले अर्थात् भ्याक्सिन, इन्जेक्सन थेरापी, फुड आइटम वा औषधिको प्रयोगले गम्भीर एलर्जी वा एनाफाइलेक्सिस भएमा, गर्भवती तथा स्तनपान गराउने आमा र गर्भावस्थाका लागि योजना बनाइराखेका महिलालाई पनि यो भ्याक्सिन लगाउन नहुने बताउनुभयो । यस्तै कोभिड–१९ को सक्रिय सङ्क्रमण भएको चारदेखि आठ हप्तासम्म खोप लगाउनु हुँदैन, प्लाज्माथेरापी दिइएका कोभिड–१९ का बिरामीले चारदेखि आठ हप्तासम्म यो खोप लगाउनु हुँदैन । यस्तै कुनै पनि कारणले गम्भीर बिरामी भएमा यो खोप लगाउनु हुँदैन ।
यसैबीच गत चौबिस घण्टामा देशभर थप ३०३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यही अवधिमा देशभरबाट थप २८५ जना निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?