logo
२०८१ मंसिर ७ शुक्रवार

   प्रतिनिधि सभा विघटन   



निवेदकतर्फको बहस सकियो

मुख्य समाचार |


निवेदकतर्फको बहस सकियो


नारायण काफ्ले

काठमाडौँ, माघ १९ गते । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन १३ वटा रिट निवेदनमा निवेदक पक्षबाट बहस सकिएको छ । माघ ४ गतेबाट सुरु भएको बहसमा निवेदकका तर्फबाट ६३ जनाले बहस गरेको सर्वोच्चले जनाएको छ । सबै निवेदनको पक्षमा बहसका लागि तीन सयभन्दा बढीको वकालतनामा थिए । त्यसका लागि १३ कार्यदिनमा निवेदकको तर्फबाट बहस सकिएको हो । सोमबारदेखि विपक्षीका तर्फबाट बहस प्रारम्भ हुनेछ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस प्रारम्भ गर्ने तयारी छ ।
सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता खरेलसहित ११ जनाले बहस गर्नेछन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेश नेपाल, नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेललगायतले बहस गर्नुहुनेछ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ता श्रीकृष्ण सुवेदी, श्यामप्रसाद खरेलले बहस गर्नुहुनेछ ।
आइतबार बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीलाई कतिले बहस गर्नुहुन्छ भनेर सोध्नुभएको थियो । जवाफमा नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले ११ जनाले बहस गर्ने जानकारी दिनुभएको थियो । प्रधानन्यायाधीशले प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधित्व गर्नुभएका पन्तलाई पनि सोही प्रश्न गर्नुभएको थियो । उहाँले बहसबारे परामर्श हुने जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?