logo
२०८० चैत्र १५ बिहीवार



कोरोना खोप नयाँ चरणमा

मुख्य समाचार |


कोरोना खोप नयाँ चरणमा


सरोज ढुङ्गेल

काठमाडाँैं, फागुन ५ गते । नेपालमा यति छिटो कोरोनाविरुद्धको खोप आउँछ भन्नेमा चिकित्सकहरू नै विश्वस्त थिएनन् । सरकारले खोप ल्याउने प्रयास भइरहेको बताए पनि कहिले आउने ? भन्ने निश्चित थिएन तर सोचेभन्दा चाँडो खोप आएर प्रयोग हुन थालेपछि कोरोना महामारीविरुद्धको लडाइँमा नेपाल नयाँ युगमा प्रवेश गरेको छ ।
केही महिना पहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक कार्यक्रमबीच फागुनसम्म आइपुग्ने धारणा राख्नुभएको थियो तर सरकारले कोरोनाविरुद्धको खोप माघको पहिलो साता ल्याउन सफल भयो । पहिलो चरणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, सरसफाइकर्मीलाई मात्र खोप लगाएको सरकारले अब पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन सुरु गरेको छ ।
दोस्रो प्राथमिकतामा परेका पत्रकार, कूटनीतिक नियोग, राजदूतावासमा कार्यरत कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । गत हप्ता सोमबारदेखि शुक्रबारसम्म पत्रकार, कूटनीतिक नियोग र राजदूतावासका कर्मचारी गरी तीन हजार ४८० जनाले खोप लगाइसकेका छन् ।
गत सोमबारदेखि नेपाल सरकारका कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, पहिलो चरणमा छुटेका कर्मचारीलाई समेत खोप लगाउन सुरु गरिएको छ । पछिल्लो समय कोरोना खोपमा मानिसको विश्वास बढ्दै गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. झलक गौतमले पछिल्ला केही दिनयता खोप लगाउने कार्य उत्साहप्रद भएको बताउनुभयो । पहिलो चरणमा एक लाख ८४ हजारभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाइसकेका छन् ।
सोमबारबाट सुरु भएको पहिलो चरण दोस्रो प्राथमिकताको खोप पहिलो दिनमा १४ हजार ५२० जनाले लगाएका थिए । यस्तै दोस्रो दिन अर्थात् मङ्गलबार त्यो सङ्ख्या बढेर २७ हजार २८४ पुगेको थियो । मङ्गलबार ३१ हजार ४४३
जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
दोस्रो चरणअन्तर्गत तीन दिनमै ७३ हजार २४७ जनाले खोप लगाएका छन् । हालसम्म दुई लाख ६३ हजार ४८४ जनाले कोरोना खोप लगाइसकेका छन् । यसरी खोप लगाउनेको सङ्ख्या बढ्दै जाँदा सरकारले छिट्टै नै कोरोनाविरुद्धको खोप खरिद गरी आमसर्वसाधारणमा तत्काल लगाउने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले खोप खरिदका लागि प्रक्रिया सुरु गरिसकेको भन्दै सम्भवतः छिट्टै खरिद गरेको खोप आउने बताउनुभयो ।
उहाँले कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य सङ्गठन
(डब्लूएचओ)ले मान्यता दिइसकेको भन्दै निर्धक्क भएर लगाउन आग्रह गर्नुभयो । नेपालमा हाल लगाइएको खोप पनि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन सुरु गरेको खोप हो । सेरममा उत्पादित कोभिडविरुद्धको खोप कोभिसिल्ड नेपालसहित १६ राष्ट्रमा प्रयोग भइरहेको छ । खोप शाखा प्रमुख गौतमले कोरोनाविरुद्धको खोपले आधाभन्दा बढीलाई असर गर्न सक्ने भन्दै ज्वरो आउने, बान्ता हुने, टाउको दुख्नेजस्ता समस्या भएमा सामान्य रूपमा लिनुपर्ने बताउनुभयो । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना खोपको असर ७२ घण्टासम्म देखिन सक्ने भएकाले ज्वरो आयो भन्दैमा खोप लगाउन डराउनु नहुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?