logo
२०८० चैत्र १६ शुक्रवार



पत्रकारहरूको खोप अनुभव: केही कठिन भए पनि सुरक्षित

मुख्य समाचार |


पत्रकारहरूको खोप अनुभव: केही कठिन भए पनि सुरक्षित


सरोज ढुङ्गेल

काठमाडौँ, फागुन ९ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा स्वास्थ्यकर्मीपछि फ्रन्टलाइनमा बसेर अनवरत काम गर्नेमा पत्रकारहरू पर्छन् । विभिन्न सञ्चारमाध्यममा स्वास्थ्य क्षेत्रमा लेख्न पत्रकारहरूले कोरोनाको उच्च जोखिमको समयमा पनि दिनहुँजसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, शहीद शुक्रराज अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताललगायतका स्वास्थ्य संस्थामा गई रिर्पोटिङ गर्ने गर्दथे ।
चीनको वुहानबाट १८० जना विद्यार्थी उद्धार गरेर ल्याएको अवस्थामा होस् वा कोरोनाबारे स्वास्थ्यकर्मीलाई समेत राम्रो जानकारी नभएको अवस्थामा पत्रकारहरूले कोरोनाका बारेमा रिपोर्टिङ गर्न छोडेनन् । टेकु अस्पतालमा दोस्रो र तेस्रो सङ्क्रमितको उपचार हुँदै गर्दा पनि भित्रै गएर उनीहरूको तस्बिर खिच्ने तथा रिपोर्टिङ गर्ने काम गरे । दिनहुँ कोरोनासम्बन्धी सूचनाकै लागि पनि विभिन्न ठाउँमा धाइरहन्थे ।
धेरै पत्रकार कोरोनाबाट सङ्क्रमितसमेत भए । पछिल्लो समय कोरोना खोप नेपालमा आएपछि पत्रकारहरूले पनि प्राथमिकतामा परेर खोप लगाउने सुविधा पाए । कोरोनाको खोपबाट आउने सानातिना समस्या झेलेको अनुभव बटुलेका पत्रकारहरू यसको प्रयोग गरेर सुरक्षित हुनुपर्ने बताएका छन् । उनीहरूको भनाइ छ, “केही कठिन भए पनि सुरक्षित महसुस भयो ।”
अग्रमोर्चामा रिपोर्टिङ गर्नेमध्ये हुनुहुन्छ– नयाँ पत्रिकाका पत्रकार अर्जुन अधिकारी । कतिपय पत्रकारहरूले खोप नलगाउने निर्णय गरे पनि उहाँले खोपको सुविधा उपलब्ध भएको पहिलो दिनमै खोप लगाउनुभयो । त्यसपछि उहाँलाई झनै गाह्रो हुन थाल्यो । बाथरुम जाँदासम्म साथीको सहारा लिनु परेको अनुभव उहाँको छ । यसका साथै उच्च ज्वरो आउने, बान्ता हुन खोज्ने, शरीर शिथिल हुनेजस्ता समस्याले ग्रस्त बनाएको उहाँ बताउनुहुन्छ तर बिस्तारै अवस्था सामान्य भएको अनुभव उहाँको छ । उहाँ भन्नुहुन्छ, “अब त सुरक्षित भएँ ।” अनलाइन खबरमा कार्यरत सागर बुढाथोकीको कोरोना खोपको अनुभव छुट्टै छ । उहाँलाई खोप लगाएपछि अलिकति पनि दुखेन तर खोप लगाउने व्यक्तिले सकियो जानुस् भनेपछि बाहिर निस्कँदा अरू व्यक्तिले भने खोप लगाउँदा दुखेको अनुभव सुनाइरहेका थिए । बेलुका सबै साथीलाई ज्वरो आएको, टाउको दुखेको समस्या सुनाए । उहाँलाई केही नभएपछि पुनः खोप विज्ञलाई फोन गरेर सोधेको र खोप विज्ञले कुनै व्यक्तिलाई कुनै खसर गर्दैन भनेपछि ढुक्क भएको बुढाथोकी बताउनुहुन्छ ।
यसैगरी स्वास्थ्य विधामा समाचार लेख्ने फातीमा बानुलाई कोरोना खोप लगाउँदा मनमा केही डर थियो । उहाँले ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने भन्ने जान्दाजान्दै पनि खोप लगाएको बताउनुभयो । खोपप्रति विश्वास भएरै खोप लगाएको भन्दै उहाँले त्यस दिन केही नभएको सुनाउनुभयो । एकनिद्रा सुतेर ब्यँुझिएपछि भने ज्वरो आएको, खोप लगाएको हात दुखेको अनुभव उहाँको छ । अन्य साथीलाई धेरै असर गरेको सुनेको तर आफूमा भने धेरै असर नगरेको उहाँको भनाइ छ ।
नेपाल समयमा कार्यरत ज्योति अधिकारीलाई खोपले निकै गाह्रो गरेको अनुभव छ । अहिलेसम्म नदुखेको टाउको दुखेको, ज्वरो आएको, बान्ता हुन खोजेको, दुई दिनसम्म उठ्नै नसकेको अनुभव उहाँको छ । खोप लगाउँदा खासै नयाँ केही अनुभव नभएको भन्दै उहाँले पहिले नै खोपको विषयमा विज्ञहरूसंँग बुझेकाले खोप लगाउँदा डर हटेको बताउनुभयो । चिकित्सकले भनेअनुसार मात्रै खोपको असर भएकाले यस विषयमा धेरै चिन्ता ्र
लिनु नपर्ने र ढुक्क भएर खोप लिन उहाँले आग्रह गर्नुभएको छ ।
पत्रकार बीना न्यौपानेलाई भने अन्य साथीलाई भन्दा धेरै जटिल स्थिति उत्पन्न भएको थियो । उच्च ज्वरो आउने, सास फेर्न कठिन हुने, रिङ्गटा लाग्नेजस्ता समस्या धेरै दिनसम्म रहेको उहाँले जानकारी दिनुभयो । कोठामा एक्लै भएकाले पनि धेरै डर भयो, न्यौपानेले भन्नुभयो, “चारवटा सिरक ओढ्दासमेत ज्वरोले गर्दा जाडो भइरहन्थ्यो । ”
खोपले गर्दा अझैसम्म कमजोर महसुस भएको भन्दै उहाँले खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या अहिलेसम्म कायम रहेको बताउनुभयो । टाउको दुखाइ, ज्वरो आउने समस्याले धेरै कठिन भएको उहाँको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?