logo
२०८१ बैशाख १४ शुक्रवार



खोप लगाएपछि ज्येष्ठ नागरिक खुसी

मुख्य समाचार |


खोप लगाएपछि ज्येष्ठ नागरिक खुसी


सरोज ढुङ्गेल

काठमाडौँ, चैत १ गते । ज्येष्ठ नागरिकले खोप लगाउन थालेपछि कोरोनाविरुद्धका अभियान नयाँ चरणमा प्रवेश गरेको छ । उहाँहरू खोप लगाउन पाउँदा असाध्य खुसी मात्र हुनुभएको छैन, अब बाँचिने भयो भन्दै खुुसी साट्न थाल्नुभएका उहाँहरूले खोप लगाएर सुरक्षित हुन आह्वान गर्नुभएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीले कोरोनाविरुद्धको खोप लगाएपछि आफू सुरक्षित भएको महसुस गर्नुभयो । आइतबार किष्ट मेडिकल कलेजमा कोरोनाविरुद्धको खोप लगाएको जानकारी गराउनुहुँदै उहाँले कोरोनाविरुद्धको खोप ज्येष्ठ नागरिकले लगाउनुपर्छ भनेपछि आफूले खोप लगाएको र खुसी भएको बताउनुभयो । उहाँले खोप लगाइसकेपछि शरीरमा कुनै प्रतिक्रिया नभएको अनुभव सुनाउनुभयो ।
खोप लगाउँदा बेलुुकाबाट ज्वरो आउन सक्छ, सिटामोल खानुु भनेर खोप केन्द्रमा सुुझाव दिएको जोशीले बताउनुभयो । त्यही सुुझावका आधारमा खोप लगाएको दिन बेलुुकी एक चक्की सिटामोल खाएको र ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायतका कुुनै पनि समस्या आफूूलाई नदेखिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले चाँडै खोप पायौँ, लगाएर सुरक्षित हुनुपर्छ ।”
यसैगरी भक्तपुरमा सुशीला पौडेलले कोरोनाविरुद्धको खोप लगाउनुुभएको छ । उमेरले ८८ वर्ष पुगिसक्नुुभएकी पौडेलले कोरोनाबाट बच्न खोप लगाएको बताउनुहुन्छ । नाति–नातिनीहरूले पनि कोरोनाबाट बच्न खोप लगाउन सुुझाएपछि खोप लगाएको उहाँको भनाइ छ । कोरोना खोप लगाएपछि आफूलाई कुनै समस्या नभएको पौडेलले जानकारी दिनुुभयो । यस्तै ओखलढुुङ्गा घर भई हाल राजधानीमा बस्दै आउनुभएका ८६ वर्षीय शिवहरि गौतमले कोरोनाविरुद्धको खोप लगाइसक्नुुभएको छ । खोप लगाएपछि कोरोना लाग्दैन भन्ने सुुनेर कोरोना खोप लगाएको सुुनाउँदै गौतमले अरू केही असर नपरेको बताउनुुभयो । रेडियोमा भनेजस्तो ज्वरो आउने, जिउ दुख्ने, बान्ता हुने, टाउको दुख्नेजस्ता कुनै पनि लक्षण नदेखिएको बताउनुुभयो ।
नेपालमा हालसम्म पहिलो चरणमा चार लाख २९ हजार ७०५ र दोस्रो चरणमा १० लाख ५० हजार जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । दोस्रो चरण गत सातादेखि सुरु भएको हो । ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा दोस्रो चरणको खोप अभियानमार्फत खोप दिने कार्य भइरहेको छ ।
फागुन २३ गतेबाट सुरु भएको दोस्रो चरणको अभियानअन्तर्गत सात दिनभित्र १० लाख ६० हजारले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । सरकारले दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ वर्ष उमेरभन्दा माथिका जनसङ्ख्यालाई खोप लगाउने भनिए पनि खोप अपुग हुने भएपछि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप दिइएको हो ।
दोस्रो प्राथमिकतामा परेका नागरिकले दैनिक एक लाखभन्दा बढीको सङ्ख्यामा खोप लगाइसकेका छन् । नेपालमा पहिलो पटक खोप आउँदा खोपबारे व्यापक भ्रम रहे पनि सरकार तथा निजी क्षेत्र सो भ्रम चिर्न सफल भएको छ । पछिल्लो चरणमा खोप लगाउनेहरू बढदै गएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले सार्क मुलुकमा नेपाल कोरोनाविरुद्धको खोप लगाउनेमा दोस्रो स्थानमा रहेको जानकारी दिँदै उत्सुकताका साथ खोप लगाउने कार्य भएको बताउनुुभयो । सुरुमा त कोरोना खोपबारे धेरै भ्रम छर्ने काम भएको भन्दै डा. गौतमले भन्नुुभयो, “पछिल्लो चरण कोरोनाबारे भ्रमको अन्त्य भएको छ, खोप लगाउनुपर्ने रहेछ भन्ने मानसिकताको विकास भएको छ ।”
डा. गौतमका अनुसार नेपालमा १०८ वर्ष उमेरसम्मका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । पर्वतमा १०८ वर्षीय ज्येष्ठ नागरिक, म्याग्दीमा १०३ र काठमाडौँमा १०४ वर्षका वृद्धवृद्धाले खोप लगाएको उहाँले जानकारी दिनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?