logo
२०८१ मंसिर ८ शनिवार



निषेधाज्ञा ७३ जिल्लामा विस्तार

मुख्य समाचार |


निषेधाज्ञा ७३ जिल्लामा विस्तार


देवबहादुर कुँवर

काठमाडौँ, वैशाख ३१ गते । कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।
गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको महìवपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको बताउनुभयो ।
कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले उपचार हुँदाहुँदै पनि अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढेको भनाइ उहाँको छ । उहाँले सङ्क्रमणको जोखिमबाट जोगिन निषेधाज्ञाको पालना नै महìवपूर्ण विकल्प भएको बताउनुभयो ।
त्यस्तै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट थप कडा पारिएको छ । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौँ (डीसीसीएमसी)ले अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा निषेध गरेको छ ।
निषेधाज्ञामा पनि बिहान सवारीसाधनको बाक्लो चाप देखिएपछि डीसीसीएमसी प्रमुख एवं काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहितको टोली सडक अनुगमनमा निस्केर निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिनुभएको हो ।
उहाँले निषेधाज्ञा अनुगमनको क्रममा अधिकांशले सवारी पासको दुरुपयोग गरेको पाइएको जानकारी दिनुभयो । अस्पतालको पास झुण्ड्याएर अर्कै कामका लागि सवारी चलाइरहेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीसँगै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहसहितको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल र सोह्रखुट्टेलगायत क्षेत्रको अनुगमन गर्नुभएको छ । सरकारबाट जारी सवारी पास तथा अत्यावश्यक सेवाका नाममा कार्ड झुण्ड्याएर आफूखुसी सडकमा गुड्ने सवारीसाधनहरू नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मोटरसाइकल, ट्याक्सी–कार, ढुवानीलगायत एक हजार दुई सय सवारीसाधन होल्ड गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?