logo
२०८१ बैशाख १५ शनिवार



कोही ‘हिरो’, कोही ‘जिरो’

विचार/दृष्टिकोण |


कोही ‘हिरो’, कोही ‘जिरो’


निर्मलकुमार आचार्य
वास्तविक ‘हिरो’को पहिचान यो कोरोनाकालमा भएको छ । आफ्नो शरीर, ज्यान, परिवार, कमाइ आदिलाई एकातिर पन्छाइ जसरी तमाम स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । यो देख्दा त्यो भनाइ साँच्चै जस्तो लाग्छ, जसमा भनिएको छ, ईश्वर सबैतिर पुग्न नसक्ने भएकाले उनले स्वास्थ्यकर्मीलाई विशेषज्ञता र निःस्वार्थपनका साथ पठाएका हुन् ।
घट्दो देखिए तापनि ‘कोभिड १९’ को दोस्रो चक्र कहाँ टुङ्गिने हो ? भन्न सकिने अवस्था छैन र तेस्रो लहरको सम्भावित परिदृश्य पनि कल्पनातीत रहेको छ । तेस्रो लहरको निसानामा बालबालिका बढी पर्ने आशङ्काले थप भयावहता दर्शाइरहेको छ ।
अस्पताल, शøया, सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्ट, खोप, औषधि आदि यथेष्ट परिमाणमा जुटाउनुपर्ने खाँचो आँैंल्याइरहेका स्वास्थ्यकर्मीको मनोबल उकास्नेतर्फ पनि सोच, सक्रियता जरुरी छ । थोरै तलब र भनिएको भत्तासमेत नपाएको अवस्थामा पनि स्वास्थ्यकर्मीले सेवा कार्य गरेकै हुन्, पर्याप्त तलब, भत्तासहित अन्य उत्प्रेरणात्मक पाटातिर पनि यथासम्भव प्रयास बढाइनुपर्छ । बिरामीको सेवामा तल्लीन डाक्टर, नर्स आदिको मन पनि चङ्गा हुनुपर्छ । असल नियत, पूर्ण मनोभाव र आफ्नो ज्ञान, सीपको सर्वाधिक प्रयोगमा जोड लगाउने स्वास्थ्यकर्मीहरू जहिले अवाञ्छनीय गतिविधिको शिकार हुनपुग्छन्, त्यसबखत उत्साह धरमराउन खोज्नु अस्वाभाविक होइन । कुनै पनि अर्थमा स्वास्थ्यकर्मीको उत्साह घट्न दिन नहुने परम यथार्थ आज सारा दुनियाँले अनुभव गरिरहेको छ ।
स्वास्थ्यकर्मीको उत्साह जगाउने दिशामा हालै एउटा सुखद मार्ग प्रशस्त भएको छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ लाई संशोधन गरी जारी भएको अध्यादेशले चिकित्सा जगत्लाई उत्साहित तुल्याएको छ । विगत डेढ दशक अघिदेखि राख्दै आइएको माग यस अध्यादेशबाट पूरा भएकाले यसलाई नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले मुख्य उपलब्धिको संज्ञा दिनुभएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था बारम्बार प्रताडित हुँदै आएको विदितै छ । यही कोरोनाकालमा पनि अनेक घटना भए । लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अञ्चल अस्पताल र विराट मेडिकल कलेजमा भएका घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ । डाक्टर, नर्समाथि हातपात गर्ने तथा स्वास्थ्य संस्थामाथि तोडफोडलगायतका आपराधिक कृत्य गर्नेहरू अब छुट्न नसक्ने विश्वास पलाउनु आफैंँमा सुखद सङ्केत हो । नयाँ व्यवस्था अनुसार स्वास्थ्य संस्थामाथि आगजनी गर्नेलाई दुई वर्षदेखि पाँच वर्षसम्मको कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ । स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि, नोक्सानी पु¥याउने र स्वास्थ्यकर्मी तथा संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्ने वा शारीरिक चोट पु-याउने कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ । स्वास्थ्य संस्थामा तालाबन्दी गर्ने, घेराउ गर्ने, स्वास्थ्य उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने काममा कुनै किसिमले बाधा पु-याउने वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, गाली, धम्की, अभद्र, अपमानजनक व्यवहार गरिएमा एक वर्षसम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ ।
जनस्वास्थ्यलाई सर्वोपरि सम्झी सेवा कार्यमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि बलियो कानुनी बन्दोबस्त गर्नुपर्ने थियो, अब कार्यान्वयन तहमा पनि उत्तिकै सशक्तता अत्यावश्यक छ । सुरक्षा पाउनु अधिकारभित्रकै कुरो हो । यतिखेर यसको अर्को पाटो पनि हेर्न नबिर्सनु बुद्धिमानी हुनेछ । चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था जहाँ सुरक्षाको अधिकार बलियो भएको छ भने त्यहीं कर्तव्य र दायित्व पनि अविस्मरणीय छ । सबै चिकित्सकले निष्ठापूर्वक काम गरेका छन् भन्न सकिंँदैन । यसो त गलत उपचार भएको अवस्थामा पीडितले उजुरी गर्नसक्ने व्यवस्था नरहेको होइन तर उपचारका लागि स्वास्थ्य संस्था पु-याइँदा हेर्न समेत नमानिएको दुःखद स्थिति पनि छ ।
चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा आवश्यक रहेकामा शङ्का छैन तर जनता जनार्दनको सेवा गर्न बसेका स्वास्थ्य संस्थाले दायित्व अनुरूप कर्तव्य निर्वाह गरेका छन् कि छैनन् ? त्यो हेरिएको वा हेरेर कारबाहीसमेत गरिएको दृष्टान्त नगण्य छन् । यही कोरोना कहरकै सन्दर्भ उक्याउने हो भने पनि खासगरी निजी अस्पताल, नर्सिङ होम आदिको प्रवृत्ति प्रश्नैप्रश्नभित्र जेलिएको छ । सेवाका नाममा खोलिएका यस्ता अस्पताल केवल ढेवामुखी भएको आरोप निराधार छैन । निजी अस्पताल तथा नर्सिङ होमहरूलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने अभिमत लोकतान्त्रिक मुलुकका निम्ति सही दृष्टि होइन नै तर यसको अर्थ नियमनभित्र पनि राख्न नहुने ठान्नु अनुचित हो । समाजवाद उन्मुख नेपालको समान स्वास्थ्य सेवाको प्रत्याभूतिका दिशामा यस्ता संस्थाले कतिको टेवा दिएका छन् ? ज्वलन्त सवाल तेर्सिएको छ । प्रतिशतकै हिसाबमा हेर्ने हो भने कति निमुखा, असहाय, निर्धनले यिनबाट सेवा पाएका छन् ? यसको लेखाजोखा भए, नभएको जानकारी सार्वजनिक हुने गरेको छैन । कोरोना महामारीका बखतसमेत नागरिक समुदायको मन जित्न नसकेको यथार्थलाई सम्बद्ध सबै पक्षले आत्मसात् गर्नैपर्छ ।
चिकित्सक, स्वास्थ्यकर्मी होऊन् वा स्वास्थ्य संस्था अथवा जोकोही नामले होइन, कामले पुजिने हुन् । ‘हिरो’ बनाउने पनि यस्तै सत्कार्यले हो । अरू बेलामा नकारात्मक दृष्टिकोण व्यक्त गर्नेहरू समेत अहिले आएर चिकित्सक तथा स्वास्थ्यकर्मीको ठूलो गुणगान गरिरहेका छन् । दृष्टिकोण परिवर्तन हुनुको कारण कोरोना महामारी होइन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ज्यान हत्केलामा बोकी गरेको निःस्वार्थ सेवाभावको परिणति हो । कैयौँ निजी अस्पताल, नर्सिङ होमहरू यस अर्थमा चुकेकै हुन् । सरकारले अक्सिजन सिलिन्डर आदि उपलब्ध नगराएको जस्ता कारण देखाई अकर्मण्यतामाथि ढाकछोप गर्न खोज्नु आत्मवञ्चना सिवाय केही ठहरिने छैन । थोरै जनशक्ति, थोरै प्रविधि र थोरै साधन–स्रोतबाट पनि कतिपयले उदात्ततापूर्वक ठूला कार्य सिद्ध गरेकै छन्, तसर्थ बहानाबाजीमा अल्झिनुसट्टा सेवा परायणताको पारायण गर्नु सर्वथा हितकारी हुनेछ ।
निजी क्षेत्रलाई नियमन राख्न नसक्नु नियामक निकायको कमजोरी होभन्दा फरक परोइन । अनुगमनकै क्रममा पनि अनेक बेथिति दर्शिनुपर्ने हो । अचाक्ली शुल्क असुलिएको उजुरी पर्न आएकाले के हो ? भनी सोधिएको बाहेक त्यस्तालाई आफंँै अनुसन्धान गरी वा उजुरी परेलगत्तै घोक्रेठ्याक लगाउन नसक्नुले पनि मनपरीतन्त्रलाई दुरुत्साहन गरेको मान्नुपर्छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको मर्यादा राख्नु र सम्मान गर्नु सेवाग्राहीको कर्तव्य हो भने सेवाग्राहीलाई आफ्नो सेवाद्वारा ढुक्क बनाउनु स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको पनि कर्तव्य हो । ‘चिकित्सा पेसा’ पेसा मात्र नभई सामाजिक दायित्वसमेत भएकाले पनि यसको भूमिका अत्युच्च छ । जीवनको रक्षा गर्ने भएकाले नै चिकित्सकलाई सेवाग्राहीले ‘भगवान्’को समेत संज्ञा दिएका हुन् । चिकित्सक नजिक पर्नासाथ रोग निको हुनथाल्ने आहान यसै चलेको होइन । ओखतीले रोग बिसेक पार्छ तर रोगीलाई त चिकित्सकले नै स्वस्थ बनाउने भनाइमा पनि गूढार्थ छ । पक्कै, स्वास्थ्यकर्मीको मिठो बोली र स्वास्थ्य संस्थाको आत्मीय व्यवहार सकारात्मक ऊर्जाका निम्ति अनिवार्य तŒव हुन् । शपथ अनुरूप सेवाकार्य गर्नेहरू यतिखेर ‘हिरो’ बनेका छन् भने अर्काथरि ‘जिरो’ साबित भएका छन् । सेवाग्राहीको ज्यानको रक्षाका निम्ति तन, मन अर्पिएर लागिपरेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था साँच्चै ‘हिरो’ बनेका हुन् । विभिन्न निहुँ बनाई घरमै बस्ने, खटाएका ठाउँमा नजाने, मोटो रकम पाए रोगीको नाडी छाम्ने र धनी–गरिबमा भेदभाव गर्ने स्वास्थ्यकर्मीहरू ‘जिरो’ बनेका छन् । केवल पैसामुखी परिपाटीमा रम्ने, आफूकहाँ सम्भव उपचार समेत नगराई अन्यत्र बिरामी प्रेषण (रेफरल) गर्ने, नियम, कानुन नमान्ने, महामारीका बेलामा समेत जनमुखी नहुने, कबुलिएका कर्तव्य तथा दायित्वसमेत निर्वाह नगर्ने स्वास्थ्य संस्थाहरू पनि ‘जिरो’ नै बनेका छन् ।
आफू ‘हिरो’ हो कि ‘जिरो’ ? खुल्दुली मेट्न चाहना भए प्रत्येकले मनको ऐना हेरे पुग्छ । ‘जिरो’ कोही नहोऊन्, सबै ‘हिरो’ होऊन् भन्ने सदिच्छा छ । कसरी सबै ‘हिरो’ हुने वा कसरी सबैलाई ‘हिरो’ बनाउने ? सोचाइ राख्ने हो भने विलम्ब ठीक होइन । कुरो, कोरोनाको दोस्रो अथवा तेस्रो लहरको मात्र होइन, आउँदा दिनमा नयाँ, नयाँ चुनौती पनि उब्जिन सक्छन् । ‘हिरो’को सङ्ख्या बढ्नसके सेवाग्राहीले अहिलेको जस्तो विडम्बना फेरि कहिल्यै बेहोर्नुपर्ने थिएन । 
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?